काठमाडौँ - बर्सेनि आउने बाढीपहिरो र अनियन्त्रित रूपमा जथाभावी भइरहेको नदी दोहनका कारण म्याग्दीका नदी तथा खोलाबाट जलचरप्राणी लोप हुँदै जान थालेका छन् भने जैविक विविधतामासमेत ह्रास आउँदै गइरहेको छ।
प्राकृतिक र मानवीय कारणले जलसम्पदा नासिँदै र प्रदूषित हुँदै जानथालेपछि जलचर प्राणीको अस्तित्व नै खतरामा परेको पाइएको छ। म्याग्दी नदीबाट असला माछा, चेपागाँडा, भुरा, गङगटो आदि हराउँदै गएका छन्। जथाभावी भइरहेको नदी दोहन, फोहरमैला विर्सजन तथा बाढीपहिरोका कारण कालीगण्डकी, म्याग्दी नदी र रघुगङ्गा नदीबाट जलचर प्राणी नासिनुका साथै यस क्षेत्रको जैविक विविधता खल्बलिँदै गएको वातावरण संरक्षणकर्मीले बताएका छन्।
विगत पाँच वर्षदेखि यी जलाधार क्षेत्रमा गएको बाढीपहिरा र अत्यधिक मात्रामा भएको नदी दोहनका कारण यी नदीमा रहेका जलचर लोप हुँदै गएको उनीहरूको भनाइ छ। भगवान विष्णुको प्रतिक मानेर पुजिने बहुमूल्य शिला शालिग्राम र जलचर प्राणीको वासस्थान मानिएको कालीगण्डकी नदीको नारच्याङ क्षेत्रदेखि सदरमुकाम बेनीसम्मको क्षेत्रमा जलचर प्राणीको अस्तित्व लोप हुँदै गएको पाइएको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा निर्माणाधीन जलविद्युत् अयोजनाका कारण पानीको प्राकृतिक गुणमा परिवर्तन भई वातावरणीय असन्तुलन हुन थालेपछि जलचरको अस्तित्व सङ्कटमा परेको सरोकारवालाले बताएका छन्। नारच्याङ जलचर र जङ्गली जनावरको वासस्थानका लागि अत्यन्त अनुकूल स्थान भएको ठाउँका रूपमा चिनिन्छ।
पछिल्लो समय यहाँका नदी तथा खोलाबाट विद्युत् आयोजना निर्माण गर्ने होडबाजी नै चलेकोले यहाँका जलचर सङ्कटमा परेका नारच्याङमा निर्माणाधीन मिस्त्रीखोला जलविद्युत् आयोजनाको वातावरण इकाईमा कार्यरत शिव पुर्जाले बताए। नारच्याङमा १५७ मेगावाटका ५ वटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेका छन्। निर्माणाधीन अवस्थामा रहेका ती जलविद्युत् आयोजनाका स्रोत भनेका यहाँ रहेका नदी तथा खोला नै हुन्।
त्यसैगरी, बाढीपहिरो र नदीजन्य वस्तुको अप्राकृतिक उत्खनन पनि जलचर नासिनुका मुख्य कारण रहेका वातावरण संरक्षणकर्मीले बताएका छन्। म्याग्दी नदी, कालीगण्डकी र रघुगङ्गा क्षेत्रमा गएका पहिरो र पहिरोसँगै विभिन्न स्थानबाट आएको बाढीले नदीको जलचक्र प्रणाली नै खलबलाई दिएकाले जलचरको वासस्थान नाश हुँदा उनीहरू लोप हुने अवस्थामा पुगेका वातावरण संरक्षणकर्मी चन्द्रमणि सापकोटाले बताए।
उनका अनुसार नदीमा आउने बाढीले नदीलाई धमिल्याइदिएर आहाराको अभाव गराइ दिने मात्र होइन त्यसले जलचरको अनुकुलन अवस्थालाई पनि क्षति पुर्याइदिने भएकोले त्यस ठाउँमा रहनसक्ने अवस्था नभएपछि जलचर तलतिर सर्दै जान्छन्। मानवीय अतिक्रमण र प्राकृतिक सम्पदाको दोहन पनि जलचर प्राणी नासिँदै जानुको अर्को कारण हो।
म्याग्दीका तीनवटै जलाधार क्षेत्रमा नदीजन्य वस्तुको चोरी निकासी बढेर गएको छ। नदीमा डोजर र स्काभेटरजस्ता भारी साधन प्रयोग गरेर जथाभावी नदीजन्य वस्तु निकाल्दा त्यसको असर जलचर प्राणीमा पनि परेको र उनीहरू नासिँदै गएका वातावरण संरक्षणकर्मीको भनाइ छ।
त्यसैगरी बजार तथा ग्रामीण क्षेत्रको फोहर विर्सजन गर्ने ठाउँ नदी तथा खोला नै बन्ने गरेका छन्। नदीमा फोहर विर्सजन गर्दा रासायनिक तत्वको प्रभावले जलचर प्राणीको अस्तित्व जोखिममा परेको वातावरणविद्को भनाइ छ