काठमाडौँको शङ्खरापुर नगरपालिका–३ स्थित लप्सेफेदी जंगलमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएका गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी निवासी ६० वर्षीय अर्जुन लामिछानेको उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएपछि मृतक संख्या पाँच पुगेको हो।
लामिछानेको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको थियो। चिकित्सकले बिहीबार बिहान उनलाई मृत घोषणा गरेका हुन्।
यसअघि बुधबार साँझ स्थानीय ढोल्बु सामुदायिक बनमा बा.४ ख ८७८८ नम्बरको महानगर यातायातको बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो। मृतकहरूको सनाखत भइसकेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
दुर्घटनामा मृत्यु हुनेहरूमा बाँकेको कोहलपुर नगरपालिका–५ घर भई बुढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ घर भई बुढानीलकण्ठ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बु, सिराहा घर भई पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ती गुप्ता र पाँचथर घर भई गोठाटार बस्ने ६५ वर्षीय देबेन्द्र लिम्बु रहेका छन्।
मृतक सबैको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।