काठमाडौँ - लुम्बिनी प्रदेश सरकारले प्रदेश पूर्वाधार प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा छवि पोखरेललाई नियुक्त गरेको छ।
प्रदेश सरकारले प्यूठानको ओखरकोट निवासी पोखरेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। यसअघि नियुक्त कार्यकारी निर्देशक अनन्तराज घिमिरेले केही दिन अघि राजीनामा दिएपछि उक्त पद रिक्त थियो। पोखरेललाई गत चैत २५ गते नियुक्त गरेको हो। पोखरेललाई आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। त्यस अवसरमा मुख्यमन्त्री केसीले सरकारको पहिलो प्राथमिकताको रूपमा रहेको प्रदेशको राजधानी निर्माणको योजनालाई पूर्णता दिन निर्देशन दिए।
शपथ ग्रहणपछि निर्देशक पोखरेलले लुम्बिनी प्रदेश सरकारले दिएको जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।