रुपन्देही - रुपन्देहीको सैनामैना नगरपालिका–३ मुर्गियाका लोकदोहोरी गायक रामप्रसाद पौड्यालले नयाँ गीति एल्बम् बजारमा ल्याएका छन्।
“बालुमै” नामक सो गीति एल्बममा शब्द संयोजन प्रल्हाद सुवेदी र सङ्गीत वसन्त थापाले गरेका छन्। विभिन्न तीन दर्जन गीति एल्बममा गीत गाएका लोकगायक पौडेलले लोकदोहोरीको विधामा दुई अर्वाडसमेत पाएका छन्। ‘मेरी आमा’ नामक गीतबाट विसं २०७४ मा र ‘बालआश्रम’ नामक गीतबाट जुरी अवार्ड पाएका उनले विसं २०५९ देखि गायन क्षेत्रमा अग्रसर भएको बताए। “मेरी आमाले पहाडमा दाउरा–घाँस बोक्दा गीत गाउँदै काम गर्नुहुन्थ्यो, मैले पनि आमाकै प्रेरणाबाट गीत गाउन सुरु गरेँ”, उनले भने।
गायक पौडेलले पारिजात बसाउँछ, आमाको माया–२, चट्टै माया मार्र्यौ, हो की होइन माया लाउनेलगायत तीन दर्जन गीत गाएका छन्। गायक पौडेलले विभिन्न मेला, महोत्वसमा पनि गीत गाएर सम्झौता अनुसार आम्दानी गरेको बताए। गीत सङ्गीतमा लागेर उल्लेख्य आम्दानी नभएको उनले बताए।
रेडियो नेपालबाट भ्वाइस पास गरेर गायन क्षेत्रमा लागेको उनले आर्थिक अभावका कारण काठमाडौँको दोहोरी साँझमासमेत गीत गाएको स्मरण गर्छन्। “आर्थिक अभावका कारण मैले ठूलाठूला समस्या झेलेको छु”, उनले भने।