पाल्पा - बगनासकाली गाउँपालिका–४ खानीछापको वडा भवन निर्माण सम्पन्न छ । यस अगाडि सो वडा कार्यालयले विद्यालयको कक्षाकोठाबाट सेवा प्रवाह गर्दै आएको थियो।
३५ लाखका लागतमा वडा भवन निर्माण सम्पन्न भएको भवन निर्माण समितिका संयोजक हीराबहादुर गाहाले जानकारी दिए। बगनासकालीकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले वडा भवनको शुभारम्भ गर्दै बगनासकाली गाउँपालिकाका सबै वडा भवन र स्वास्थ्यचौकी भवन निर्माण गरिएको बताए।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुु घर्तीले बगनासकालीमा प्रशासनिक सेवामा सुधार आएको सुविधासम्पन्न प्रविधिको प्रयोग गरी सेवालाई जनमैत्री गराएको जानकारी दिए। बगनासकालीका नौ वडामध्ये आधारभूत सेवासुविधाको हकमा पछाडि रहे पनि अहिले शिक्षा, स्वास्थ्य, यातायातका हिसाबले विकासको गति लिन थालेकोे वडाध्यक्ष हुतमानसिं दर्लामीले बताए। मोटरबाटो, स्वास्थचौकी भवन, वडा भवन तथा झोलुङे पुलसमेत निर्माण गरी जनताको जीवनस्तर सुधार्न पहल भएको उनले जानकारी दिए।