उज्ज्वल थापा वैकल्पिक राजनीतिका पिता : तोसिमा कार्की

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले विवेकशील नेपालीका दिवंगत संस्थापक नेता उज्ज्वल थापालाई नेपालमा वैकल्पिक राजनीतिका ‘पिता’का रूपमा सम्मानपूर्वक स्मरण गरेकी छन्। आइतबार राष्ट्रिय सभा गृहमा आयोजित एकता सभामा बोल्दै उनले थापाले सुरु गरेको वैकल्पिक राजनीतिक यात्रालाई रास्वपाले निरन्तरता दिने स्पष्ट संदेश दिइन्।

उनका अनुसार उज्ज्वल थापाले वैकल्पिक शक्ति मूलधारमा आउन र नेतृत्व लिन सक्ने विश्वास स्थापित गरिदिएका थिए। उनले भनिन्,
“वैकल्पिक राजनीतिक पार्टीको पिताका रूपमा हामी उज्ज्वल थापा दाइलाई सम्मान गर्छौँ। उहाँले देखाएको बाटोमै रास्वपा अगाडि बढ्नेछ।”

डा. कार्कीले तेस्रो जनआन्दोलनपछि देशको राजनीतिक दिशा अस्थिर भएको भन्दै जेनजी पुस्ताले माग गर्ने परिवर्तन पुराना दलले अब नेतृत्व गर्न नसक्ने दाबी गरिन्। उनका अनुसार वैकल्पिक शक्तिहरू एकजुट भएर अघि बढ्नु देशको आवश्यकता बनिसकेको छ।

“यो देशलाई वैकल्पिक शक्तिकै नेतृत्व चाहिएको छ,” उनले जोड दिँदै भनिन्, “एकीकृत वैकल्पिक शक्ति नै भविष्यमा देश चलाउने नेतृत्व बन्न सक्छ।”

रास्वपा र विवेकशील–साझाबीच एकता प्रक्रिया अघि बढिरहेका बेला तोसिमा कार्कीको यो अभिव्यक्ति वैकल्पिक राजनीतिक धारलाई बलियो बनाउने दिशामा महत्वपूर्ण टिप्पणीका रूपमा लिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×