काठमाडौँ - सुशील कोइराला मेमोरियल फाउन्डेसन र अन्वेषण न्युज डट कमको सहकार्यमा निर्माण गरिएको प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जीवनीका घटनामा आधारित ‘राजद्रोही राजनेता’ वृत्तचित्र आज प्रदर्शन हुने भएको छ।
वृत्तचित्रमा विसं २०३१ देखि २०३६ सम्मका घटना समेटिएको छ। करिब छ वर्ष लगाएर वृत्तचित्र तयार गरिएको अन्वेषण न्युज डट कमका प्रधानसम्पादक जगत नेपालले जानकारी दिए। वृत्तचित्रमा बिपी, गणेशमानलगायत नेतामाथिको राजद्रोहको मुद्दाको फैसला गर्ने न्यायाधीश जनकमान श्रेष्ठ, पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट, बिपीको चिकित्सकका रुपमा काम गरेका डा मृगेन्द्रराज पाण्डे, पूर्वअञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठ, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायतको स्वर सङ्कलन गरिएकाले जीवन्त छ।
विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्कँदा साथमै रहेका नेताहरु खुमबहादुर र नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाइँलगायतको भनाइ पनि वृत्तचित्रमा समेटिएको छ। हाल उनीहरुको निधन भइसके पनि यसअघि नै भनाई लिइएको थियो।
बिपीलगायत नेताहरु मेलमिलापको नीति लिएर फर्कनुअघि उनलाई नेपालको राष्ट्रपतिको अफर गरिएकामा देश बचाउन पद कसरी छोडेको भन्ने पनि देखाइएको प्रधानसम्पादक नेपालले बताए। वृत्तचित्रमा भिडियोग्राफी र सम्पादनको काम मानबहादुर थापाले गरेका छन्।
नेपाली कांग्रेसको संस्थापकसमेत रहहेका बिपी आफूमाथिका आठवटा राजद्रोहसम्बन्धी मुद्दाकोसमेत प्रवाह नगरी २०३३ साल पुस १६ गते किन स्वदेश फर्कनुभयो र कसरी जनमत सङ्ग्रहको घोषणा भयो भन्ने विषयलाई वृत्तचित्रमा सूक्ष्मरुपमा देखाइएको छ। नेपाल प्रवेश गर्ने बित्तिकै राजद्रोहको मुद्दाका कारण मृत्युदण्डसमेत हुनसक्ने र भारत प्रवासमा बसिरहँदा राष्ट्रियता सङ्कटमा पर्ने त्रासकाबीच बिपीले गर्नुभएको ऐतिहासिक राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको विषयलाई वृत्तचित्रमा देखाइएको फाउन्डेसनका सदस्य सचिव अतुल कोइरालाले जानकारी दिए।