काठमाडौं । गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पर्यटनमन्त्री सुदन किरातीको कार्यशैलीलाई लिएर सदनमा असन्तुष्टि जनाएका छन् ।
आइतबारको संसद बैठकमा बोल्दै सांसद खतिवडाले पर्यटनमन्त्री सुदन किराती कमिसन र स्टन्टबाजीमा लिप्त रहेको आरोप लगाए ।
पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँती नेपाल एयरलाइन्सको सुधार गर्नभन्दा पनि कार्यालय सफा गरेको भिडियो बनाएर सस्तो लोकप्रियतमा लागेको उनको टिप्पणी थियो ।
सांसद खतिवडाले नेपाल वायुसेवा निगमको ट्विनअटर विमान खरिद प्रक्रियामा १८ करोड रुपैयाँ कमिसन खाने खेल भइरहेको आरोप पनि लगाए। पछिल्लो समय उत्पादन बन्द भएको विमान खरिद गरेर कमिसनको दाउमा केही व्यक्ति लागेको उनको भनाइ छ ।
“पर्यटनमन्त्री नयाँ जहाज किन्नुपर्छ भनेर लाग्नुभएको छ । नेपाल एयरलाइन्सलाई कहाँ पुर्याउने ? कुन अवस्थामा लाने हो रु यो बारेमा सोच्नुपर्ने बेला भइसकेको छ । ट्विनअटर क्यानडाबाट ल्याउने निर्यण गरिएको छ । निगम व्यवस्थापनले अहिले जहाज खरिद गर्ने अवस्था छैन, जहाज उत्पादन हुन छोडिसकेका छन् भन्दा पनि टेन्डर जारी गरिएको छ,” उनले भने, “‘रिपोर्ट अन क्वालिफाइड’ भनेर समितिले भनिसकेको छ । ३०० डी ल्याइँदै छ, जुन जहाज अहिले प्रोडक्सनमा छैनन् । यसलाई ल्याएर झन्डै १८ करोड रुपैयाँ कमिसन खाने खेलमा लागिएको सूचना प्राप्त भएका छन् ।”