काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तित राजनीतिक परिस्थितिबारे संसदीय दललाई जानकारी गराएका छन्।
माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको बैठकमा प्रधानमन्त्री दाहालले सरकारको समीकरण परिवर्तनका सम्बन्धमा प्रष्ट पार्दै दलका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए ।
बैठकमा प्रतिनिधिसभाको पछिल्लो अवस्थाबारे प्रतिनिधिसभाका मुख्य सचेतक पाण्डे र राष्ट्रियसभाका प्रमुख सचेतक गोपीबहादुर अछामीले बैठकलाई जानकारी गराएका थिए ।
त्यसैगरी राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार तथा विश्वासको मतको विषयमा सहभागी सदस्यले सोधेको प्रश्नमा प्रधानमन्त्री दाहालले उम्मेदवारका विषयमा पार्टीको स्थायी समिति बैठकले निर्णय गर्ने र विश्वासको मत कहिले लिने भन्ने विषयमा सहयात्री दलसँग छलफल गरेर निर्णय लिइने जानकारी गराएका थिए ।
राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षको निर्वाचनमा पनि सांसदहरुलाई अनिवार्य उपस्थिति भई आफ्नो पक्षमा मतदान गर्न पनि निर्देशन दिने निर्णय गरेको पार्टीका प्रमुख सचेतक पाण्डेले बताए ।
राष्ट्रियसभाको अध्यक्षको निर्वाचन यही फागुन २९ गर्ने र प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत फागुन ३० गते लिने तयारी छ ।
त्यसैगरी बैठकले कार्यतालिका अनुसार नै संघीय संसदको बैठक अघि बढाउने विषयमा पनि आफ्नो पार्टीले जोड दिने निर्णय गरेको छ ।