कांग्रेस महाधिवेशन : बागमती प्रदेश सभापतिमा कसैको बहुमत नआएपछि आज पुनः मतदान हुने, बानियाँ र केसीबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाली काँग्रेसको बागमती प्रदेशमा सभापतिका लागि पुनः मतदान हुने भएको छ । 

शनिवार सम्पन्न निर्वाचनमा तीन उम्मेदवार कसैको पनि बहुमत नपाएपछि फेरि मतदान हुने भएको हो । निर्वाचनमा सभापतिका दावेदार इन्द्र बानियाँ, जगदीश्वर नरसिंह केसी र भीमसेनदास प्रधान प्रतिस्पर्धामा रहेका थिए । 

निर्वाचन समितिका अनुसार इन्द्र बानियाँले ९९२ मत ल्याएका छन् भने केसीले ८७२ र प्रधानले १९७ मत ल्याएका छन् । यसैगरी १० मत बदर भएको छ हुनुका साथै केही मत खाली रहेको छ ।  

नेपाली काँग्रेसको विधानअनुसार चुनाव जित्नका लागि ५० प्रतिशत मत कटाउनु पर्ने हुन्छ । अब अर्को चरणको चुनावमा बढी मत ल्याउने बानियाँ र केसीबीच चुनाव हुनेछ । ५० प्रतिशत भन्दा बढी मत ल्याउने विजयी हुनेछ ।

बानियाँ शेरबहादुर देउवा निकटका हुन् भने केसी रामचन्द्र पौडेल र प्रधान कृष्ण प्रसाद सिटौला पक्षका हुन् । अब हुने निर्वाचनमा सिटौला पक्षले जसलाई समर्थन गर्छ उसकै पक्षमा पल्ला भारी हुने देखिएको छ । निर्वाचन समितिका सदस्य रामप्रसाद अधिकारीले दोस्रो चरणको निर्वाचन आजै हुने र त्यसका लागि केहीबेरमा निर्वाचन तालिका सार्वजनिक गरिने बताए ।

कुल मतदाता २१५१ भएको बागमती प्रदेशमा २०८३ मत खसेको निर्वाचन समितिले जनाएको छ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×