काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तर्गतका विभागमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सञ्चालन गरिएको छ । कार्यालयको कामलाई छिटो, छरितो र पारदर्शी बनाउने गरी एकै प्रकृतिका कार्य एउटै सूचना प्रविधि प्रणालीमार्फत सञ्चालन गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय जनाएको हाे ।
सूचना प्रविधि विभाग, मुद्रण विभाग, सूचना तथा प्रसारण विभाग, प्रमाणीकरण नियन्त्रणको कार्यालय र हुलाक सेवा विभागमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सञ्चालन गरिएको छ ।
सूचना प्रविधि विभागले गत साउनदेखि, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत असोज १ गतेदेखिर अन्य कार्यालयले यही मङ्सिर १ गतेदेखि एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सञ्चालन गरेको सूचना प्रविधि विभागले जनाएको छ ।
अन्तर्राष्ट्रिय स्तरमा पनि सबै कार्यालय एउटै विधिमा चल्ने गरिएको र नेपालमा पनि सोही प्रणाली सञ्चालन गर्न एकीकृत कार्यालय व्यवस्थान प्रणाली सञ्चालनमा ल्याइएको विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले बताए ।
एउटै सूचना प्रविधि प्रणाली सञ्चालनका क्रममा विभागले सबै सरकारी कार्यालयलाई एड्मिन युजर र पासवर्ड प्रदान गरेको महानिर्देशक श्रेष्ठले जानकारी दिए ।