काठमाडौँ - सन् २०२३ को फेब्रुअरी ३ देखि ९ सम्म बंगलादेशमा आयोजना हुने साफ यू-२० वुमन्स च्याम्पियनसिपको खेलतालिका सार्वजनिक भएको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बिहीबार सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले पहिलो खेल बंगलादेशसँग खेल्नेछ। नेपाल र बंगलादेशबीचको खेल फेब्रुअरी ३ मा हुनेछ। त्यही दिन भारत र भुटानबीच पनि खेल हुनेछ।
च्याम्पियनसिपमा नेपाल, बंगलादेशसहित भारत र भुटान गरी चार टिमको सहभागिता रहेको छ।
नेपालले फेब्रुअरी ५ मा भुटानसँग र फेब्रुअरी ७ मा भारतसँग लिग खेल्नेछ। सिंगल राउण्ड रोविन लिगपछि शीर्ष दुईमा रहने टिमले फेब्रुअरी ९ मा फाइनल खेल्ने छन्। सन् २०१८ मा साफ यू-१८ च्याम्पियनसिपको नामबाट सुरु भएको यस प्रतियोगिता २०२१ मा यू-१९ फर्म्याटमा भएको थियो भने २०२२ मा फेरी यू-१८ को नाममा भएको थियो।
पहिलो पटक यो प्रतियोगिता यू-२० फर्म्याटमा आयोजना हुन लागेको हो। पहिलो संस्करणमा उपविजेता बनेको नेपालले अहिलेसम्म उपाधि जित्न भने सकेको छैन।