काठमाडौँ - फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा पुगेको छ। समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा मक्काबी हाइफालाई ७-२ ले हराउँदै पीएसजी नकआउट चरणमा पुगेको हो।
पीएसजीलाई फराकिलो जित दिलाउने क्रममा लियोनल मेस्सी र केलियन एमबाप्पेले समान २ गोल गरेका थिए। त्यस्तै नेयमार र कार्लोस सोलरले १/१ गोल गरेका थिए। सिन गोल्डबर्गले आत्मघाती गोल गर्दा पीएसजीले थप फराकिलो जित निकाल्यो।
हाइफाका लागि दुवै गोल अब्दुलाए सेकले गरेका थिए। जितसँगै समूह ‘एच’ को पीएसजीले ५ खेलमा ११ अंक जोडेको छ। पीएसजी शीर्ष स्थानमा रहेको छ। हाइफा ३ अंक जोडेर पुछारमा रहेको छ। यस समूहबाट बेनेफिका पनि नकआउट चरणमा पुगेको छ।