काठमाडौँ - फ्रान्सेली लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले ब्राजिली युवा विंगर भिनिसियस जुनियरलाई आकर्षक प्रस्ताव राख्दै स्पेनिस क्लब रियाल म्याड्रिडमा सम्झौता नविकरण नगर्न आग्रह गरेको छ।
पिएसजीले हालको सम्झौता सकिएपछि उनलाई लिग वानमा सामेल हुन प्रति सिजन ४० मिलियन युरोको प्रस्ताव गरेको हो। यो उनको हालको पारिश्रमिकभन्दा १२ गुणा र रियालसँगको सम्झौता नविकरण गर्ने भन्दा ४ गुणा बढी पारिश्रमिक हो।
रियाल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले स्पेनिस टिभी कार्यक्रम एल चिरिन्गुइटोमा यो कुराको खुलासा गरेका हुन्। तर,२१ वर्षीय भिनिसियसलाई धेरै प्रस्ताव आएपनि उनले स्पेनिस महारथी रियालमै बस्ने योजना बनाएका छन्।
पिएसजीको गत वर्षको नोभेम्वरदेखि भिनिसियसलाई अनुबन्ध गर्ने योजना बनाइरहेको छ। पिएसजीले आकर्षक तलवमा साइन अन बोनससँगै कतारमा धेरै अवसरहरु प्रस्ताव गरेको थियो।
भिनिसियस अनुबन्ध गर्न लिभरपुल, चेल्सी र म्यानचेस्टर युनाइटेडले प्रयास गरेपनि भिनिले त्यसमा चासो भने देखाएका छैनन्।
भिनिसियस र रियालबीच सम्झौता नविकरण हुने भनिएपनि हुन सकेको छैन। दुवै पक्षबीच सन् २०२६ र त्यो भन्दा माथिसम्म सम्झौता नविकरण हुने अपेक्षा गरिएको छ। भिनिले रियलमा २०२६ सम्म सम्झौता गरे १० मिलियन युरो र २०२७ सम्म सम्झौता गरे १२ मिलियन युरो बोनस प्राप्त गर्नेछन्। यो दुवै प्रस्तावलाई रियालले स्कीकारी गरिसकेको छ।
भिनि २०१८ मा ब्राजिली क्लब फ्लामेंगोबाट रियालमा आएका थिए। उनले यो सिजनमा रियालमा आफ्नो करिअरकै उच्च प्रदर्शन गरेका छन्। भिनिले रियलबाट यो सिजन ५२ खेल खेल्दा २२ गोल गरेका छन्। ब्राजिलका लागि १४ क्याप जितेका उनले १ गोल गरेका छन्।