काठमाडौँ - पूर्वमन्त्री एवं नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले धुलिखेलको संस्कृति जीवित राख्ने खालको विकासको काम गर्न सुझाव दिएका छन्।
काभ्रेपलाञ्चोकको धुलिखेलमा बिहीबार भएको धुलिखेल नगरपालिकाको ३६औँ स्थापना दिवस कार्यक्रममा उनले कला र सीपको हस्तान्तण गर्नुपर्ने भएकाले नगरभित्रको शङ्खुको इँटे र धुलिखेल बजारलाई सिमेन्टको कङ्क्रिट नभई पहिला इँटा छापेको ठाउँमा इँटा तथा ढुङ्गा छापेको ठाउँमा ढुङ्गा नै प्रयोग गर्न आग्रह गरे। विकासमा कसैले पनि राजनीति गर्नुपर्ने अवस्था नरहेको समेत उनको भनाइ छ।
मान्छे प्रगतिबाट कहिल्यै नअघाउने भएकाले नगरपालिकाले अहिलेसम्ममा प्राप्त गरेका उपलब्धिलाई थप अगाडि बढाउन आवश्यक रहेको उनले बताए। नेता बाँस्कोटाले नेपालको राजनीतिक नेतृत्वको स्ट्राइकर कहाँ छ भनेर खोज्ने बेला आएको उल्लेख गर्दै राजनीति सही बाटोमा अगाडि नबढेको उल्लेख गरेका छन्। कार्यक्रममा नगर प्रमुख अशोक व्याञ्जूले आर्थिक वर्ष २०७४-७५ देखि २०७७-७८ सम्ममा करिब रु. दुई अर्ब ९२ करोड ८३ लाख ३० हजार बजेट भएकामा रु. दुई अर्ब ७९ करोड ४१ लाख ४८ हजार खर्च भएको बताए।
नगरपालिकाको नेतृत्व लिएपछि नगरभित्रमा ३४ किमी सडक कालोपत्र भएको जनाउँदै उनले पाँच किलोमिटर ढलान, ७१ किलोमिटर ग्राभेल र ३२० किलोमिटर कच्ची सडक निर्माण भएको बताए। उनले सो अवधिभित्र नगरपालिकाले दुई हजार ५१९ घरधुरीमा थप धारा जडान गरी कूल पाँच हजार ७१६ घरधुरीमा खानेपानी सुविधा उपलब्ध गराएको जानकारी दिएका छन्।
त्यस्तै, साना–ठूला गरी ५१ उद्यान, दुई ट्रिटमेन्ट प्लान्ट र दुई झोलुङ्गे पुल निर्माण गरेको जनाइएको छ।