काठमाडौँ - कप्तान केएल राहुल घाइते भएपछि भारतले दक्षिण अफ्रिकासँगकाे टी–२० आई शृंखला रिसव पन्तको कप्तानीमा खेल्ने भएको छ। भारतीय कप्तान केएल राहुल र कुलदीप यादव घाइते भए पश्चात रिसवले घरेलु मैदानमा कप्तानी गर्ने अवसर पाएका हुन्। भारतले दक्षिण अफ्रिकासँगकाे पहिलो टी-२० आई बिहीबार बेलुकी दिल्लीमा खेल्दै छ।
हार्दिक पाण्ड्यालाई उपकप्तानको जिम्मेवारी दिइएको छ। पाण्ड्याले इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पहिलो पल्ट कप्तानी गर्दै गुजरात टाइटान्सलाई उपाधि जिताएका थिए।
राइट ग्रोइन इन्जुरीका कारण राहुल टिमबाट बाहिरिएका हुन्। कुलदीपलाई भने अभ्यास खेलका क्रममा दाहिने हातमा चोट लागेको थियो। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले एक विज्ञप्ति जारी गर्दै राहुल र कुलदीप दुवैको बैंगलोरको राष्ट्रिय क्रिकेट एकेडेमीमा स्वास्थ्य परीक्षण गर्ने बताएको छ।
‘राष्ट्रिय टिमको कप्तानी गर्न पाउनु मेरो लागि राम्रो अनुभव हो। यो अवसर राम्रो परिस्थितिका बिच नआए पनि मैले खेलमा शतप्रतिशत दिनेछु’, पन्तले भने, ‘आईपीएलमा गरेको कप्तानीले मलाई यो जिम्मेवारी बहन गर्न सहयोग गर्न सक्छ। कप्तानको जिम्मेवारी आईपीएलमा होस् या राष्ट्रिय टिमको दुवै एकै खाले हुन्। म गल्तीबाट सिक्दै जाने मान्छे हुँ, त्यो कुराहरुले मलाई आगामी दिनमा पनि सहयोग गर्ने छ।’
राहुलको इन्जुरीले जुलाई १ देखि ५ सम्म इङ्ल्यान्डमा हुने टेष्ट क्रिकेटमा पनि भारतलाई असर पार्नेछ। राहुलले चोटका कारण गत नोभेम्वरमा भएका दुई वटा घरेलु टेष्ट शृंखला गुमाएका थिए।