काभ्रेको नमोबुद्ध र रोशी उत्कृष्ट

काभ्रे - राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा काभ्रेपलाञ्चोकको नगरपालिकामध्ये नमोबुद्ध र गाउँपालिकामध्ये रोशी उत्कृष्ट भएका छन्।

आयोगले गत आर्थिक वर्ष २०७७/७८ को स्थानीय सरकारको कार्यसम्पादन मूल्याङ्कनको नतिजा सार्वजनिक गरेअनुसार जिल्लामा नमोबुद्ध र रोशी उत्कृष्ट भएका हुन्। 
काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन्। आयोगले विभिन्न १७ सूचकको वित्तीय क्षेत्रतर्फका सूचकको आधारमा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन गर्ने गर्दछ। नगरतर्फ पहिलो स्थानमा पर्न सफल नमोबुद्धले ६६ दशमलव ३९ अङ्क प्राप्त गरेको छ। उक्त नगर १३ स्थानीय तहमध्ये समग्रमा तेस्रो तथा मुलुकका ७५३ स्थानीय तहमध्ये १३औँ स्थानमा परेको हो।

यस्तै, जिल्लामा समग्र स्थानीय तहमध्ये पनि पहिलो स्थानमा परेको रोशी गाउँपालिकाले ६८ दशमलव ३६ अङ्क प्राप्त गरेको छ भने महाभारत गाउँपालिकाले दोस्रो स्थान ओगट्न सफल भएको छ। उसले ६६ दशमलव ६८ अङ्क प्राप्त गरेको छ। वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा गाउँपालिकामध्ये उत्कृष्ट स्थानमा पर्नु खुसीको विषय भएको अध्यक्ष डिबी लामाले बताए। नमोबुद्ध नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले पनि उस्तै तर्क गरेका छन्। 

“वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट स्थानमा पर्नु खुसी र गौरवको कुरा हो”, तिमल्सिनाले भने। लामा र तिमल्सिनाले तोकिएको समयमा नगरसभा सञ्चालन, नीति कार्यक्रम तथा बजेट विनियोजन, राजस्व परिचालनका काम तथा समयमै कार्यान्वयन गरेकाले उत्कृष्ट भएको प्रतिक्रिया दिए। 

आयोगले तोकिएको समयमा बजेट ल्याए/नल्याएको, वार्षिक समीक्षा गरे या नगरेको, स्थानीय तहको बेरुजुको अवस्था, आवधिक योजना तर्जुमा भए/नभएको, कक्षा एकदेखि ८ सम्म खुद विद्यार्थी भर्ना दरको अवस्था, बालबालिकालाई लगाइएको पूर्ण खोपको अवस्थालगायतका १७ वटा सूचकमार्फत स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन गरेको थियो। 

जिल्लाको अन्य स्थानीय तहमा नगरतर्फ दोस्रो स्थान र समग्रमा चौँथो स्थानमा परेको धुलिखेल नगरले ६३ दशमलव २९, पाँचौँ पाँचखाल नगरले ६३ दशमलव १९ अङ्क प्राप्त गरेका छन्। सबैभन्दा कम अङ्क प्राप्त गर्नेमा चौरीदेउराली गाउँपालिकाले ३७ दशमलव ९० अङ्क मात्रै प्राप्त गरेको छ।  

जिल्लाका अन्य स्थानीय तहमा नगरतर्फ बनेपाले ५६ दशमलव २२, पनौतीले ५५ दशमलव ९२ र मण्डनदेउपुरले ५३ अङ्क प्राप्त गरेका छन्। यस्तै गाउँपालिकातर्फ बेथानचोकले ५९ दशमलव २५, खानीखोलाले ५४ दशमलव ९५, तेमालले ५० दशमलव ५८ र भुम्लु गाउँपालिकाले ५० दशमलव २० अङ्क प्राप्त गरेका छन्। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×