काठमाडौँ - कतारमा जारी विश्वकपको रिपोर्टिङ गरिरहेका अमेरिकी खेल पत्रकार ग्रान्ट वाहलको मृत्यु भएको छ। उनी नेदरल्याण्ड र अर्जेन्टिनाबीचको खेल हेरिरहेका बेला अचानक अस्वस्थ भएका थिए।
रंगशालामै उनलाई २० मिनेटसम्म सीपीआर गरिएको थियो। एक्कासी ढलेका उनलाई हृदयघात भएको यूएस सकरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। खेल पत्रकारितामा कलम चलाउने प्रतिष्ठित फुटबल पत्रकार गुमाउनु दु:खद भएको यूएस सकरको विज्ञप्तिमा उल्लेख गरिएको छ।
४९ वर्षीय पत्रकार ग्रान्ट सीबीएस स्पोर्टसमा काम गर्दै आएका थिए। उनले सोमबारमात्रै सामाजिक सञ्जालमार्फत आफू १० दिनदेखि केही अस्वस्थ भएको जानकारी गराएका थिए।