काठमाडौँ - श्रीलङ्का र नेदरल्यान्ड्स आईसीसी टी-२० विश्व कप क्रिकेटको सुपर-१२ मा प्रवेश गरेका छन्। बिहीवार श्रीलङ्काले नेदरल्यान्ड्सलाई हराउँदै सुपर १२ मा पुगेको हो भने यूएईले नामिबियालाई हराउँदा नेदरल्यान्ड्स पनि दोस्रो राउन्डमा पुगेको हो।
साइमन्ड्स स्टेडियम जिलोङमा भएको पहिलो खेलमा श्रीलङ्काले नेदरल्यान्ड्सलाई १६ रनले हरायो। श्रीलङ्काले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ४६ रनमात्रै बनायो। नेदरल्यान्ड्सका लागि म्याक्स ओडाउडले नटआउट ७१ रन बनाएका थिए। बलिङतर्फ श्रीलङ्काका वानिन्दु हसरङ्गाले ३ र महेश थिकशनाले २ विकेट लिएका थिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो। उसका कुसल मेन्डिसले ७९ रन बनाएका थिए।
यस्तै यूएईलाई हराउनै पर्ने खेलमा नामिबिया पराजित भएपछि नामिबिया सुपर १२ मा पुग्न पाएन। नामिबियाको हारले नेदरल्यान्ड्स सुपर १२ मा पुगेको छ। यूएईले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको नामिबियाले ८ विकेट गुमाएर १ सय ४१ रनमात्रै बनायो। उसका डेभिड वाइजले ५५ रन बनाए पनि टिमलाई जिताउन सकेनन्।