विश्वकप जिते जर्मनीका खेलाडीले जनही चार लाख युरो पाउने

काठमाडौँ - कतारमा ५५ दिनपछि हुने फिफा विश्वकपको उपाधि जितेमा जर्मनीका खेलाडीहरूले जनही चार लाख युरो बोनस पाउने पक्का भएको छ। आइतबार जर्मन फुटबल संघ र खेलाडीबीच प्रतियोगिता बोनसमा सहमति भएको हो।

यसअघि, सन् २०१८ को विश्वकपमा ३ लाख ५० हजार युरो बोनस पाउने भनिएको थियो। तर, रूसमा सम्पन्न २०१८ को विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो। जर्मनीले ब्राजिलमा सम्पन्न २०१४ को विश्वकपको उपाधि जित्दा जनही ३ लाख युरो बोनस प्राप्त गरेका थिए।

कतार विश्वकपको समूह चरण पार गरेका प्रत्येक खेलाडीले ५० हजार युरो पाउनेछन्। त्यस्तै, अन्तिम ८ मा स्थान बनाउन सफल भएमा जर्मनीका खेलाडीले जनही १ लाख युरो पाउनेछन्।

जर्मनी अहिले समूह ‘ई‘मा छ। यस समूहमा जर्मनीले स्पेन, कोष्टारिका र जापनसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिता २० नोभेम्बरबाट सुरु हुनेछ। जर्मनीले २३ नोभेम्बरमा जापनविरुद्धको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ।

जर्मनीले कतार विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भए प्रत्येक खेलाडीले १ लाख ५० हजार युरो जित्ने रोयटर्सले जनाएको छ। तेस्रो स्थान हासिल गरेमा प्रत्येक खेलाडीले २ लाख युरो नगद बोनस पाउनेछन्। त्यस्तै, फाइनलमा पराजित भए प्रत्येक खेलाडीले २ लाख ५० हजार युरो बोनस पाउनेछन्।

‘‘हामीले व्यापक छलफल गरेर सबैलाई मान्य हुने यस निर्णयमा पुगेका हौँ,’’ जर्मन फुटबल संघका अध्यक्ष बर्नड नेउनडोर्फले भने। बैठकमा खेलाडीको तर्फबाट म्यानुयल नेउर, थोमस मुलर, जोशुवा किमिच र इल्के गुन्डोगन सहभागी थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×