पूर्वमन्त्री लोकेन्द्र विष्ट ड्रागनखेतीमा रमाउँदै

काठमाडौँ - पूर्वमन्त्री लोकेन्द्र विष्ट हालका चल्तीका किसान हुन्। आफूलाई व्यावसायिक कृषक भन्न रुचाउने विष्ट अहिले पनि खेतीमा व्यस्त छन्।

नेपालमा ‘ड्रागन फल’को व्यावसायिक खेती भित्र्याउनेमध्येका एक हुन् विष्ट। हाल उनी तेस्रो चरणको ड्रागन फलको पर्खाइमा छन्। दुई चरणको ड्रागनको फल भित्र्याएर उनले आम्दानी लिइसकेका छन्। दाङमा आएर ड्रागन खेती गरेसँगै नयाँ अनुभव लिएको उनी बताउँछन्। मन्त्री हुँदा जति उत्साह थियो, अहिले खेती–किसानी गर्दा पनि उत्तिकै रहेको उन बताए। विष्ट भन्छन्, “म खेतमा काम गरिरहेको अवस्थामा कसैले देखेमा, भेट्न बोलाइ हाल्नुहुन्छ।” मन्त्री हुँदा जसरी मान्छे भेट्न आउँथे, अहिले खेती गर्दा पनि उत्तिकै भेट्न आउने गरेको उनले बताए।

दाङको तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीस्थित घोराही–तुलसीपुर सडक छेउमा कुनै समय बाँझो रहेको जग्गालाई विष्टले हराभरा बनाएका छन्। ड्राग्रन खेतीका लागि त्यो भूमि त्यत्ति उपयुक्त होइन, किनकि त्यसका लागि बलौटे माटो चाहिन्छ। तर पनि मेहेनत गर्दा भने त्यसले राम्रै आम्दानी दिनेरहेछ भन्ने एउटा उदाहरण विष्टले प्रस्तुत गरेका छन्।

यसअघि, उनले दुईपटक फल बिक्री गरिसकेका छन्। अब तेस्रो पटकको पर्खाइमा छन् उनी। “अहिले हामीले जति मेहेनत यो जग्गामा गरेका छौँ, त्यति मेहेनत बलौटे माटोमा गरेको भए झनै धेरै आम्दानी गर्न सकिन्थ्यो”, उनले भने, “तर यसमै पनि निकै मेहेनत हामीले गर्यौँ, त्यसैले आम्दानी राम्रै दिने गरेको छ।” ड्रागन फल जेठदेखि असोज–कात्तिकसम्म फल्छ। यो प्रायः रातिमा फल्ने भएकाले पनि ‘रातकी रानी’ भनेर पनि नाम दिइएको छ। यो फलबाट मात्रै होइन, बिरुवाबाट पनि विष्टले आम्दानी गर्दै आएका छन्।

हालसम्म उनले दुईपटकमा गरेर सरदर रु. २०–२० लाख आम्दानी गरेको बताउँछन्। एक सिजनमा २८–३० क्विन्टल उत्पादन हुने गरेको छ। बिरुवाबाट त्यस्तै रु. पाँच लाख जति आम्दानी भएको उनी बताउँछन्। अहिले उनले उत्पादन गरेका बिरुवा दाङमात्रै होइन, अन्य जिल्लामा पनि उत्तिकै बिक्री हुन्छ। फल्दै गरेको ड्रागन बेच्दै गर्दा भाइरल बनेका विष्टलाई उत्पादन भएको फल बेच्न त्यति कठिनाइ भएन भने बिरुवा बेच्न पनि सहज नै भएको उनी बताउँछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×