काठमाडौँ। आज ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस। हरेक वर्ष १४ फेब्रुअरीका दिन विश्वभर प्रेमी–प्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने गर्छन। आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्छन्।
विशेषगरी युवावर्गले यसलाई उत्सवकै रुपमा मनाउने गरेका छन्। पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रणय दिवस विशेष रूपले मनाउने गरिएको छ।
भ्यालेन्टाइन डेको सुरुआत ईस्वी सम्वत् २६९ मा भएको मानिन्छ। एक सम्राटले सैनिकहरू नारीसँगको सम्बन्धका कारण कमजोर हुने भन्दै प्रेम र बिबाहमा रोक लगाएका थिए। तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरे। आफ्नै अभियान विरूद्धको गतिविधि सैह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्डको सजाय दिए।
झुण्ड्याइनुभन्दा केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिकालाई दिएका थिए। भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो। त्यही दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन्स डे मनाउने गरिएको छ।