काठमाडौँ - सिन्धुपाल्चोकका जुगल गाउँपालिका–२ गोल्चेका रामहरि सिलवालले आफ्ना बुवाआमालाई पनौती त्रिवेणीघाटस्थित बाह्रवर्षे मकर मेलामा स्नान गराएका छन्।
बाह्र वर्षमा एकपटक लाग्ने मेलामा स्नान गर्दा मनोकाङ्क्षा पूरा हुने र पुण्य मिल्ने जनविश्वास रहेकाले स्नान गर्न ल्याएको उनले बताए। सोही ठाउँका अर्का मानबहादुर सिलवालले धर्म गरेर केही मिल्छ कि भन्ने मनोकाङ्क्षासाथ मकर स्नान गर्न आएको बताए। “दहमा डुबुल्की मारेर गरेको स्नानले पक्कै पनि केही मिल्नेछ”, उनले भने। कोरोना सङ्क्रमणको जोखिम भए पनि स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्णरूपमा पालना गरेरै स्नान गर्न आएको उनको भनाइ छ। उीनहरूसँगै सोही ठाउँका अन्य १२ जनाले मकर स्नान गरेर फर्किएका छन्।
माघ १५ यतादेखि धार्मिक आस्थाको केन्द्र पनौती त्रिवेणीघाटस्थित बाह्र वर्षमा लाग्ने ऐतिहासिक बाह्रवर्षे मकर मेलामा स्नान गर्नेको घुइँचो बढ्न थालेको हो। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६ र ७ को सङ्गमस्थल पनौती त्रिवेणीघाट क्षेत्रमा सञ्चालन भइरहेको मकर स्नानको समय तीन दिनमात्रै बाँकी रहँदा मकर स्नान गर्न आउने दर्शनार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो।
सो क्षेत्रमा बाह्रवर्षे मकर स्नान अवधिभर दिवङ्गत आत्माको सम्झनामा श्राद्ध गर्नले आत्मा शान्ति मिल्ने जनविश्वासका साथ त्रिवेणी घाटको पूर्वपट्टि रहेको रोशीखोला किनारमा श्रद्धालुहरूको उत्तिकै भीड रहेको छ। करिब एक हप्तादेखि बढ्दै गएको घुइँचोका कारण पनौतीस्थित त्रिवेणीघाट क्षेत्र र गोरखनाथडाँडामा मानिसको चहलपहल निकै बढेको छ। कोरोना जोखिमका कारण सुरु सुरुमा न्यून सहभागिता रहेको मकर स्नानमा माघ १५ यता दैनिक हजारौँ भक्तजन पनौती आउने गरेका मकर मेला मूल आयोजक समितिले जनाएको छ।
पनौती नगरपालिका–७ का वडाध्यक्ष रामचन्द्र नास्नानीले पछिल्लो समयमा भक्तजनको सहभागितामा उल्लेख्य वृद्धि हुँदै गएको बताए। कोरोना सङ्क्रमणदर घट्दै गएको कारण पनि भक्तजनको सहभागितामा वृद्धि हुँदै गएको बताउँदै उनले स्नानका लागि आवश्यक व्यवस्थापनमा आयोजकले देखाएको सक्रियताका कारण पनि दर्शनार्थीले सहज महसुस गरेर स्नान गर्न पाएको बताए।