काठमाडौँ । टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम क्रमिकरूपले अगाडि बढ्न थालेको छ।
नेपाल–चीनबीचको आयात निर्यात सामग्री परीक्षणमा सहज बनाई दुई देशबीचको व्यापार व्यवसाय अभिवृद्वि गराउने उद्देश्यले सुक्खा बन्दरगाह निर्माण थालिएको हो। नेपाल इन्टरमोडेल यातायात विकास समितिका अनुसार टिमुरे गाउँमुनि भोटेकोसी नदिको बगरलाई बाँध बाध्ने काम धमाधम अगाडि बढिरहेको छ। निर्माणस्थलमा ४० नेपाली एवं १३ चिनियासहित ५३ कामदार कार्यरत छन्। कोभिड सङ्क्रमणका कारण सुस्त गतिमा रहेको कार्य कामदारको वृद्धिसँगै २० प्रतिशत पूरा भएको प्राविधिकले बताएका छन्।
सो बन्दरगाह ३० महिनाभित्र सम्पन्न गर्ने शर्तका साथ सन् २०१९ को नोभेम्वरबाट निर्माण थालनी भएको थियो। कोभिडको असरप्रति सावधानी अपनाउँदै काम अगाडि बढी रहेकाले सम्पन्न गर्न अझै दुई वर्ष लाग्ने प्राबिधिक अनुमान छ। चीन सरकारको आर्थिक सहयोगअन्तर्गत निर्माण भइरहेको सो बन्दरगाहाको निर्माणको जिम्मा चिनियाँ तिब्बत फुल्ली कन्ट्रक्सनले पाएको छ। विकास समितिका प्राविधिकले कामको सहजीकरण गरिरहेको बताइन्छ। निर्माण सम्पन्न भएपछि मालवाहक ठूला दुई सय पचास कन्टेनर र साना तथा मझ्यौला एक सय सवारी साधनलाई पार्किङमा सहज हुने साइट इञ्चार्ज इञ्जिनियर शोभाकान्त राउतले जानकारी दिए।
बन्दरगाह निर्माणलाई थप सहज पार्न आयोजनास्थलका आसपासमा रहेका ११ व्यक्तिगत घर टहरा हटाउन मुआब्जा निर्धारण गराउने कार्य सम्पन्न भएको छ।