उदयपुर । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले मंगलबारदेखि माघ १५ गतेसम्म देशभरिका विद्यालयहरु बन्द गर्ने निर्णय गरे पनि उदयपुरको त्रियुगा नगरका विद्यालयहरु भने बन्द नहुने भएको छ ।
२०७७ सालमा एकै पटक १२ जमातिसहित १६ जनामा कोरोना संक्रमणको हटस्पट बनेको त्रियुगा नगरपालिकाले अहिले त्रियुगामा कोरोना संक्रमणको स्थिति नियन्त्रणमै रहेकाले विद्यालयहरु बन्द नगर्ने जनाएको छ।
त्रियुगा नगरपालिकामा अहिलेसम्म कोरोना संक्रमणको स्थिति नियन्त्रणममै रहेकाले विद्यालयहरु सञ्चालनमा कुनै समस्या नभएकाले नगरका विद्यालयहरु नियमित रुपमै सञ्चालनमा रहने नगर प्रमुख बलदेव चौधरीले बताउनुभयाे ।
‘त्रियुगा अहिले ग्रिन जोनकै अवस्थामा छ। त्यसैले अहिले नै विद्यालय बन्द गरिहाल्नुपर्ने अवस्था छैन' नगर प्रमुखले भन्नुभयाे । विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने निर्णय स्थानीय तहको अधिकारभित्र पर्ने भएको भन्दै चौधरीले भन्नुभयाे, ‘जुन दिन त्रियुगामा संक्रमणको अवस्था नियन्त्रण बाहिर जाने संकेत देखिन्छ। त्यही बेलादेखि मात्र नगरका विद्यालयहरु बन्द गरिन्छ।'
शिक्षा शाखा प्रमुख एकबहादुर राउतले बालबालिकालाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न सकिने बताउनुभयाे ।