काठमाडौँ । दाङको तुलसीपुरस्थित कारागारका कैदीबन्दीमा मधुमेहको समस्या देखिएको छ।
कारागारका २२ बन्दीमा सो रोगको समस्या देखिएको हो। तीमध्ये पाँचजनामा मधुमेहको मात्रा नियन्त्रणभन्दा बाहिर रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक महेशकुमार खनालले जानकारी दिए। “हामीले कारागारमा मधुमेहका बिरामीका लागि स्वास्थ्य जाँच गर्दा २२ जनामा मधुमेहको समस्या देखिएको थियो”, उनले भने, “तीमध्ये पाँचजनामा नियन्त्रणभन्दा बाहिर थियो।”
शनिबार विजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयको प्राविधिक सहयोगमा कारागारका बन्दीको निःशुल्क स्वास्थ्य परीक्षण गरी आयुर्वेदिक औषधिसमेत प्रदान गरिएको थियो। साथै, उनीहरूलाई शारिरीक व्यायाम तथा खानपानमा ध्यान दिन सुझाव दिइएको अस्पतालका निमित्त निर्देशक डा. खनालले बताए।
त्यस्तै, कैदीबन्दीको मुटु, मिर्गाैला, कोलेस्टेरोलको समेत जाँच गरिएको थियो। तीमध्ये छजना कैदीबन्दीमा बोसोको मात्रा बढेको भेटिएको थियो भने एक नाको मुटुमा थोरै समस्या देखिएको निर्देशक डा. खनालले बताए। चिकित्सालयले अहिले मधुमेहका बिरामीलाई प्राथमिकता दिएर शिविर नै सञ्चालन गरेको छ। यस महिनामा ३०० बिरामीलाई निःशुल्क मधुमेह जाँच गर्ने लक्ष्य राखिएको छ।
प्रत्येक दिन बिहान ८ बजेदेखि अस्पतालबाट मधुमेह जाँच सेवा सुरु गरिएको उनले बताए।