खेलाडीलाई सम्मान तथा पुरस्कृत गर्ने प्रदेश १ सरकारको निर्णय

काठमाडौँ - प्रदेश १ मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले केही कार्यविधिसहित निर्देशिका स्वीकृत गर्नेलगायतका निर्णयहरू गरेको छ। बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक विजेता खेलाडी, प्रशिक्षक तथा खेल व्यवस्थापकलाई सम्मान गर्न आवश्यक बजेट स्वीकृत गरेको छ।

यो निर्णयपछि निर्वाचन आचार संहितालगायतका कारणले रोकिएको पदक विजेता खेलाडी, प्रशिक्षक तथा खेल व्यवस्थापकलाई पुरस्कृत तथा सम्मान गर्ने कार्यक्रम अघि बढ्ने छ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक ल्याउने खेलाडीहरूमध्ये स्वर्ण पदक ल्याउने खेलाडीहरूलाई जनही १ लाख, रजत पदक ७५ हजार र कास्य पदक ल्याउने खेलाडीहरूलाई ५० हजारका दरले पुरस्कृत गर्ने निर्णय गरेको यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले बताएका छन्। खेल प्रशिक्षक र व्यवस्थापकलाई पनि नगद पुरस्कार दिने निर्णय गरेको।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा प्रस्तुत सार्वजनिक सुनवाई, सार्वजनिक लेखापरीक्षण तथा सामाजिक परीक्षण कार्यविधि, २०७९ स्वीकृत गरेको छ। यसैगरी, सामाजिक विकास मन्त्रालयले प्रस्ताव गरेको स्थानीय तहमा अपांगता सहायता कक्ष सञ्चालनसम्बन्धी कार्यविधि २०७९, सोही मन्त्रालयको ब्रिज कोर्स तथा भाषा शिक्षण कक्षा सञ्चालनसम्बन्धी निर्देशिका २०७९ र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक विजेता खेलाडी, प्रशिक्षक तथा खेल व्यवस्थापकलाई प्रदेश खेलकुद विकास बोर्डमार्फत खर्च गर्ने गरी नगद पुरस्कारसहित सम्मान गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत निकासा भएको बजेट बैठकले स्वीकृत गरेको छ।

बैठकले सोमवार खोटाङको केपिलासगढी गाउँपालिका वडा नं. ४, बाक्सिला बजारमा आगलागीमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता घिमिरेले जानकारी दिएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×