काठमाडौँ - हंगेरीले शनिबार राति यूईएफए नेसन्स लिगमा जर्मनीलाई १–१ को बराबरीमा रोकेको छ।
घरेलु टोली हंगेरीले छैटौँ मिनेटमा जोल्ट नागेको गोलबाट अग्रता लिएको थियो। तर, चारपटकको विश्व विजेता जर्मनीले हंगेरीको अग्रता लामो समय टिक्न दिएन। त्यसको ३ मिनेट नबित्दै जोनस होफम्यानले बराबरी गोल फर्काएपछि जर्मनीले अंक बाँड्न सफल भएको हो।
योसँगै हान्सी फ्लिकको प्रशिक्षणमा जर्मनीले अपराजित यात्रालाई १२ खेलसम्म लम्ब्याएको छ। यद्यपि, जर्मनी पछिल्लो चार खेलमा जितविहीन बनेको छ। जर्मनीले पछिल्लोपटक नेदरल्यान्ड्स, इटाली र इंगल्यान्डसँग समान १-१ को बराबरी खेलेको थियो।
हंगेरी यसअघि इटालीसँग २-१ ले पराजित भएको थियो। त्यसअघि भने हंगेरीले इंग्ल्यान्डलाई १-० ले हराएको थियो।
Global bank
समूह–३ मा रहेको हंगेरी ४ अंकका साथ दोस्रो स्थानमा छ । जर्मनी ३ अंकका साथ तेस्रो स्थानमा छ । सो समूहमा इटाली ५ अंकका साथ शीर्ष स्थानमा छ । २ अंक जोडेको इंग्ल्यान्ड पुछारमा छ ।