कैलालीमा पुन: बढ्न थाल्यो कोरोना सङ्क्रमणदर

काठमाडौँ । कोरोना सङ्क्रमण बढ्न थालेपछि पुनः समुदायमा पनि त्रास फैलिन थालेको छ। 

केही दिनयता सङ्क्रमण दरमा वृद्धि हुँदा दैनिक मजदुरी गरेर गुजारा गर्ने समुदायमा समस्या भएको हो।  उनीहरू विगतको जस्तो लामो बन्दाबन्दी भए खानको लागि कसरी जोहो गर्ने भन्ने चिन्तामा देखिन थालेका छन्। कैलालीको टीकापुर नगरपालिका–१ विशालनगर शिविरका सन्तोष परियारको दिनभरि मजदुरी गरेर कमाएर ल्याएपछि मात्रै साँझ घरमा चुलो बल्छ। उनका श्रीमान-श्रीमती बिहानै काममा निस्किने गरेका छन्। बिहानको खाना पकाएर छोराछोरीलाई घरमै राखेर उनीहरू आफ्नो खाना बोकेर काममा जाने गरेका छन्। “अलिअलि काम पाउन थालिएको थियो। अझ कोरोनाको सङ्क्रमण बढेको भन्ने सुनेको छु।” उनले भने, “अझ बन्दाबन्दी हुन्छ भने हामी त मर्छौँ होला। दिनभर काम नगरे साँझ चुलो बल्दैन। कामकाज बन्द भएपछि कमाउने बाटोसमेत बन्द हुन्छन्।”

सोही ठाउँका रामबहादुर चौधरीलाई पनि त्यहीँ पीडाले सताउन थालेको छ। हाल घर निर्माणका काममा व्यस्त रहेका उनले कोरोनाको भन्दा बढी चिन्ता परिवारको लालनपालनमा छ। उनको पनि दिनभर काम गरेपछि मात्रै साँझ घरमा चुलो बल्छ। यसभन्दा पहिलेको बन्दाबन्दीको समयमा खाएको उधारो अझै तिर्न नसकेका उनलाई फेरि बन्द भएपछि व्यापारीसँग उधारो सामानका लागि जानसक्ने आधार पनि छैन। “कोरोना आए पनि हामीलाई चिन्ता छैन। काम हुनुपर्यो। परिवारलाई साँझ बिहान खाने खर्च जुट्यो भने पुग्यो।” उनले भने, “धेरै पैसा कमाएर घर जग्गा जोड्ने सपना छैन। विगतका जस्तो बन्दाबन्दी भयो भने परिवारलाई कसरी पाल्ने भन्ने चिन्ता मात्रै छ।”

कैलाली भारतसँग सिमाना जोडिएको जिल्ला भएका कारणले पनि अन्य जिल्लाभन्दा बढी कोरोनाको बढी  जोखिममा रहेको छ। यसमा पनि भारतीय नागरिक अवैध सीमानाकाबाट व्यवसायको लागि नेपाल प्रवेशको क्रम नरोकिएकाले पनि जोखिम बढेको भजनी नगरपालिका–८ का विकास चौधरी बताउँछन्। “दैनिक भारतबाट नेपाल आउने भारतीय नागरिकलाई प्रशासनले अझै पनि रोक्न सकेको छैन। भारतमा कोरोनाको सङ्क्रमण वृद्धि हुँदा मुख्य सीमानाकामा मात्रै कडाइ गरेर जोखिम कम हुनसक्ने अवस्था छैन।” उनले भने, “सीमानाकामा कडाइ गरी भारतबाट आएका नेपाली नागरिकलाई पनि अनिवार्य क्वारेन्टिनमा राख्न सके सङ्क्रमण कम गर्न सकिन्छ तर, यहीँ अवस्थामा सङ्क्रमण बढ्दै गएपछि हामीजस्ता न्यून आय भएका नागरिकलाई दैनिकी चलाउन निकै मुस्किल हुने निश्चित छ।”

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार भारतबाट आउने नेपाली नागरिकको सङ्ख्यामा वृद्धि भएको जनाउँदै सीमानाकामा कोरोना परीक्षण गर्ने र आउने-जानेको तथ्याङ्क राख्ने काम सुरु गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×