काठमाडौँ - केही दिनअघि मात्रै नेपाल क्रिकेट संघ (क्यान) ले उपकप्तानबाट हटाएपछि सीता रानामगरले उपकप्तान मात्रै नभएर कप्तान पनि हटाउँदै नयाँ खेलाडीलाई अवसर दिनुपर्न प्रतिक्रिया दिएकी छन्।
युगान्डाविरुद्धको दोस्रो टी–२० खेलमा उपलब्ध हुँदै सीताले खेलपछि पत्रकार सम्मेलनमा बोल्दै उपकप्तानमात्र नभएर कप्तान नै हटाएर युवा खेलाडीलाई अवसर दिनुपर्ने बताएकी हुन्।
‘क्यानको निर्णय ठिकै थियो होला। युवा खेलाडीलाई ग्रुम गर्न परिवर्तन गर्नु भएको होला। तर कप्तान र उपकप्तानलाई नै परिवर्तन गरेर ग्रुम गरेको भए अझै राम्रो हुन्थ्यो होला। यो होम मैदान पनि हो,’ उपकप्तानबाट हटाए पछि पहिलो पटक प्रतिक्रिया दिँदै सीताले भनिन्।
यस अघि क्यानले युगान्डाविरुद्धको पाँच टी–२० श्रृंखलाको पूर्व सन्ध्यामा सीतालाई हटाउँदै इन्दु वर्मालाई उपकप्तानी जिम्मा दिएको थियो। टिमको कप्तानी भने रुविना क्षेत्री गरिरहेकी छिन्।
यूएईमा भएको फ्रेयर ब्रेक इन्भिटेसनल प्रतियोगिता खेल्न पुग्दा सीताले पहिलो खेल गुमाएकी थिइन्। सीतालाई उपकप्तानबाट हटाएपछि क्यानको एउटा पक्ष अहिले असन्तुष्ट रहेको छ। कहिले यसलाई पूर्वाग्रही हिसाबले समेत गरिएको निर्णय मानेका छन्।
सीताले समेत आफूभन्दा क्यान पावरफुल भएको र क्यानको निर्णयलाई मान्ने बत्ताइन्। ‘म जहाँ रहे पनि खेल्ने हो। एपीएफ क्लबमा मेरो कदर रहेको छ। म भन्दा अरू नै पावरफुल भएपछि ,उहाँहरूको निर्णयलाई मान्नुपर्छ। म खुसी छु,’ सीताले भनिन्।