काठमाडौँ - नवाजुद्दीन सिद्दिकीकी पत्नी तथा निर्माता आलिया सिद्दिकीको फिल्म ‘होली काउ’ को रिलिज मिति हालै घोषणा गरिएको छ। चलचित्र अगस्ट २६ मा सिनेमाघरमा रिलिज हुँदैछ। यद्यपि यो फिल्मको क्रिएटिभ प्रोड्युसर मञ्जु गढवालले आलिया सिद्दिकीमाथि ठगी गरेको गम्भीर आरोप लगाएकी छिन्।
मञ्जुले आलियाले विगत साढे ३ वर्षदेखि आफ्नो करिब ३३ लाख रुपैयाँ भुक्तानी नगरेको दाबी गरेकी छिन्। यस विषयमा उजुरी पनि परेको छ। मञ्जु गढवालले भनिन्, ‘अहिले उज्जैन र अम्बोली थानामा उजुरी दर्ता छ। त्यहाँ आलियालाई आफ्नो पक्ष प्रस्तुत गर्न बोलाइएको छ। यदि पुलिस आलियाको तर्कमा सन्तुष्ट भएन भने उनको विरुद्ध एफआईआर दर्ता गरिनेछ।'
उनले आलियाविरुद्ध मुम्बईको सिने अर्गनाइजेसन फेडरेसनमा मुद्दा पनि दर्ता भएको बताएकी छिन्। त्यहाँ पछिल्लो २ महिनादेखि आलियालाई आफ्नो पक्ष राख्न बोलाइए पनि आलिया त्यहाँ पुगेकी छैनन्। यता आलिया भन्छिन्, ‘यो मुद्दा प्रहरी र अदालतमा छ। त्यसैले यस विषयमा अहिले म केही भन्न सक्दिनँ। जो गल्ती गर्छ, उसलाई कानुनले सजाय दिन्छ।'