काठमाडौं - विभिन्न स्क्यान्डलमा मुछिएर बारम्बार चर्चा र विवादमा आइरहने नायिका हुन् पुजा शर्मा। अभिनय र सुन्दरता दुवैमा औसत भए पनि उनको फ्यान फलोइङ लोभलाग्दो छ।
उनै पूजाले हिजो आफ्नो जन्मदिन मनाइरहँदा फ्यानहरुको गज्जब उत्साह देखियो। पूजा शर्मा फ्यान क्लबले काठमाडौंमा एउटा होटल नै भाडामा लिएर पूजाको जन्मदिन तामझामपूर्वक मनाइदिएका थिए।
बिहानै कालभैरव मन्दिर पुगेर पूजाले पूजा गरिन्। त्यसपछि आमासँग जन्मदिन र मातातिर्थ औंसीको केक काटिन्। दोस्रो केक उनले कोरियन फेसियल हाउसमा पुगेर काटिन जहाँ उनको साथमा प्रेमी युद्ध बानियाँ समेत थिए।
तेस्रो केक पुजाले फ्यानहरुका बीचमा काटेकी हुन्। उनको जन्मदिन मनाउन फ्यानक्लबले आनन्द होटलमा भव्य सजावट गरेको थियो। फ्यानहरुले उनलाई फुल वर्षाएर स्वागत गरे। त्यसपछि जन्मदिनमा उपहार दिने र केक काट्ने काम भएको थियो।
फ्यानहरुले दिएका गिफ्टलाई पुजाले क्यामराहरुकै अगाडि खोलेकी थिइन्। केही फ्यानको उपहार बाकसमा सुनका गहना भेटिएका थिए। फ्यानले दिएको औंठी र नेकलेस लगाउँदा पूजा भावुक देखिएकी थिइन्।