काठमाडौँ। नेपाली चलचित्र 'गोर्खा वारियर–२'को छायांकनका क्रममा कलाकार रितेश चाम्स घाईते भएका छन्। सिन्धुलीमा छायांकन भइरहेको बेला उनी भिरबाट लडेर घाइते भएका हुन्। खबरका अनुसार हाल सिन्धुली बजारस्थित सिन्धुली पोलिक्लिनिकमा उनको उपचार भईरहेको छ। चलचित्रको छायांकन पछिल्लो २० दिनदेखि सिन्धुलीको कमलामाई क्षेत्रमा भइरहेको छ। उनको घाँटी तथा शरीरका अन्य भागमा चोट लागेको छ। कलाकारलाई १० दिनसम्म पूर्ण आरामसहित उपचार गर्न चिकित्सकले सल्लाह दिएको जनाइएको छ। निकै जोखिमपूर्ण दृष्य भएकाले स्टन्ट म्यानबाट त्यो दृष्य गर्नु पर्ने थियो तर रितेशले स्वयम् गर्छु भन्ने हिम्मत जुटाए। सोहिक्रममा असन्तुलित भएर उनी भिरबाट लडेको स्रोतले जनाएको छ। मिलन चाम्स निर्देशक रहेको चलचित्रमा रितेश चाम्ससँगै, बिजय लामा, रेविका गुरुङ, विजय लामा, रियर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले, सारा राई, मनोज केसी आदि कलाकारहरुको अभिनय रहनेछ।