काठमाडौँ - कञ्चनपुर र कैलालीको ३५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित अघि बढिरहेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरमा शाखा नहर निर्माणको तयारी थालिएको छ।
कञ्चनपुरमा २२ वटा शाखा नहर निमार्णको गृहकार्य अघि बढाइएको छ। मुल नहर निमार्ण सुरु गरेको डेढ दशकपछि साना र ठूला गरी यहाँ झण्डै ५० किलोमिटर लामो शाखा नहर निमार्णका लागि योजना अघि बढाइएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कार्यालयका सिनियर डिभिजनल इन्जिनियर शम्भु पण्डितले जानकारी दिए। करिब १३ किलोमिटर मुल नहर निमार्ण सकिए पनि आयोजनाअन्तर्गत बाँकी १५ किलोमिटर मुल नहर निमार्णाधीन अवस्थामै छ।
महाकाली सिँचाइ आयोजना तेस्रो चरशाखा नहर निमार्णको तयारी तीव्र पारेको छ। “शाखा नहर निमार्णका लागि योजना बनाउँदै छौँ”, पण्डितले भने, “आगामी फागुनभित्र शाखा नहर निमार्णको ठेक्का आह्वान गर्ने तयारी छ।” भारतले महाकाली नदीदेखि नेपाल–भारत सीमासम्म बनाउनुपर्ने नहरका संरचना तयार गरिसकेको छ।
महाकाली सन्धीअनुसार भारतले नेपालको सीमासम्म यहाँ एक हजार दुई सय मिटर मूल नहर र हेडरेगुलेटर लगायतका संरचना बनाउनुपर्ने हुन्छ। सोही अनुसार भारतले नहर निमार्ण लगभग अन्तिम चरणमा पुर्याएको इन्जिनियर पण्डितको भनाइ छ।