काठमाडौँ - स्थानीय तहको निर्वाचन नजिकिएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा जिल्ला सुरक्षा निकायले संयुक्तरूपमा मतदान केन्द्रहरूको अवलोकन एवं निरीक्षण सुरु भएको छ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न मतदान केन्द्रको संवेदनशीलता र अवस्था कस्तो छ भन्ने जानकारी लिन मतदान केन्द्रको अवलोकन एवं निरीक्षण सुरु गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए। प्रजिअ शर्मा, महानगरीय प्रहरी परिसर भक्तपुरमा प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठ, सशस्त्र प्रहरी बल दुवाकोटका प्रमुख, नेपाली सेनालगायत सरोकारवाला निकायसहितको टोलीले सूर्यविनायक नगरपालिका–८ नैचालपाटी भञ्ज्याङस्थित सरस्वती आधारभूत विद्यालय, सूनपा–९ काँक्राबारीस्थित सरस्वती माध्यामिक विद्यालय मतदान केन्द्र, सोही वडाको नंखेलस्थित श्रीराम आधारभूत विद्यालय र भुवनेश्वरी माध्यामिक विद्यालय मतदान केन्द्रको निरीक्षण गरेको हो।
मतदान केन्द्रको निरीक्षण गर्दै प्रजिअ शर्माले भने, “निर्वाचन नजिकिएको छ, निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्ने हाम्रो जिम्मेवारी छ, त्यसैले पनि यहाँका निर्वाचन केन्द्र कस्ता छन्, के–के समस्या छन् कि, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकमैत्री छ कि छैन, मतदातालाई मतदान गर्न कसरी सजह हुन्छ, सुरक्षाको व्यवस्थापन कसरी गर्न सकिन्छ, त्यहाँका भौतिक अवस्था कस्तो छ भन्नेबारेमा मतदान केन्द्र र मतदानस्थलको स्थलगत अनुगमन गरेका छौँ, अन्य मतदानस्थलको पनि हामी अनुगमन गरेर सुरक्षा रणनीति तय गर्छौँ।”
यही टोलीले मध्यपुरथिमि नगरपालिकाभित्रका मतदानस्थल कृषि विकास बैंक तालिम केन्द्र, हिमालय युवा क्लब बोडे, बोडे मावि लायकु, गणेश मावि नगदेश, कुम्हालक्ष्मी पाटी नगदेशको निरीक्षण गरिसकेको प्रजिअ शर्माले जानकारी दिए।