काठमाडौँ । पर्वतको कुस्मा नगरपालिका–१ पाङ्गमा क्षेत्रीयस्तरको क्रिकेट मैदानको निर्माण सुरु भएको छ।
पाङ्ग कुनाचौरको १७० रोपनीको चौरमा गण्डकी प्रदेशकै नमूना क्रिकेट रङ्गशाला निर्माण गर्न थालिएको कुस्मा नगरपालिका–१ का अध्यक्ष देवेन्द्र सुवेदीले जानकारी दिए। रङ्गशाला निर्माणका लागि राष्ट्रिय योजना आयोगको समपूरक अनुदान र कुस्मा नगरपालिकाको साझेदारीमा काम अघि बढाइएको छ। आयोगले रु. तीन करोड बजेट विनियोजन गर्ने भएकामा चालू आर्थिक वर्षमा रु. ५० लाख र नगरपालिकाको रु. २० लाख गरी झण्डै रु. ७० लाखको लागतमा मैदान सम्याउने तथा कालीगण्डकीको भिरतर्फ पर्खाल लगाउने काम भइरहेको वडाध्यक्ष सुवेदीले जानकारी दिए।
उनका अनुसार मैदानमा पश्चिमतर्फ ३० हजार मानिस अटाउने प्याराफिटसमेत बनाउन थालिएको छ। मैदानका लागि केही जमिन अपुग भएकाले नजिकै रहेको लक्ष्मीनारायण मन्दिर तथा विद्यालय र निजी जमिनसमेत चर्चिनुपर्ने भएको छ। मैदान निर्माण सुरु भएसँगै स्थानीयस्तरमा कुनै विवाद नहोस् भनेर वडा कार्यालयले आयोजना गरेको भेलाले पाङ्ग धैरेनी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्वस्थानी रिजालको अध्यक्षतामा समन्वय समिति गठन गरिएको छ।