काठमाडौँ - चर्चित बलिउड गायक केके (कृष्णकुमार कुन्नथ)को ५३ वर्षको उमेरमा मंगलबार राति निधन भएको छ। कोलकातामा लाइभ कन्सर्टमा प्रस्तुति दिएलगत्तै उनको निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन्।
कन्सर्ट प्रस्तुतिपछि होटलमा पुगेका उनको स्वास्थ्य बिगि्रएपछि तत्कालै उनलाई कोलकाता मेडिकल रिसर्च इन्स्टिच्युटमा लगिएको थियो। अस्पतालमा लैजाँदै गर्दा उनको मृत्यु भएको हो। अस्पतालमा पुगेका पश्चिम बंगालका ऊर्जामन्त्री अरुप विश्वासका अनुसार चिकित्सकले हृदयघातबाट उनको निधन भएको हुनसक्ने प्रारम्भिक जानकारी दिएका छन्।
कोलकातास्थित गुरुदास कलेजको कार्यक्रममा भाग लिन उनी त्यहाँ पुगेका थिए।
सन् १९६८ अगष्ट २३ मा एक हिन्दु मलयाली माता-पिता सीएस मेनन र कुनाथ कनकवल्लीको घर नयाँदिल्लीमा जन्मिएका उनले पाश्र्वगायनमा आउनुअघि झण्डै ३ हजार ५ सय जिंगल गाएका थिए।
उनले सन् १९९९ को विश्वकप क्रिकेटको समयमा भारतीय क्रिकेट टिमको समर्थनका लागि ‘जोश अफ इण्डिया’ नामको गीत गाएका थिए। म्यूजिक एलबम ‘पल’बाट गायकका रुपमा करियर सुरु गरेका उनले त्यसपछि मात्र बलिउडमा पाइला चालेका थिए।
हिन्दीसहित उनले तमिल, तेलुगु, कन्नड, मलयालम, मराठी, बंगाली, असमिया, गुजराती र हिन्दी भाषाका गीत छन्। झण्डै ७ सय बढी गीत गाएका उनी सन् २००० को दशकमा भारतका सर्वाधिक सफल गायक हुन्। केकेले फिल्म ‘माचिस’मा संलग्न ‘छोड आए हम’मार्फत बलिउड डेब्यु गरेका थिए। हम दिल दे चुके सनम, तडप तडपबाट उनले पछि फर्केर हेर्नुपरेन।
बजरंगी भाइजानको गीत तु जो मिला, ओम शान्ति ओमको अजब सी, वो लम्हेको क्या मुझे प्यार है, रेडीको हमको प्यार हुवा, पल एल्बमको पल, काइट्सको दिल क्यों ए मेरा, भूल भूलैयाको लबों को, द ट्रेनको बिते लम्हे, हम दिल दे चुके सनमको तडप तडप, दसको दस बहाने लगायत उनका चर्चित गीत हुन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केकेको निधनप्रति दुःख व्यक्त गरेका छन्। उनका गीतमा सबै उमेर समूहका मानिस जोडिने गरेको बताउँदै मोदीले गीतमार्फत केके सबैको हृदयमा बस्ने भन्दै ट्वीट गरेका छन्। राष्ट्रपति रामनाथ कोविन्दले पनि उनको निधनमा शोक जनाएका छन्।