काठमाडौं- बार्सिलोना घरेलु मैदान आश्चर्यजनक रूपमा लगातार तेस्रोपटक पराजित भएपछि रियाल मड्रिडको उपाधि यात्रा अझ सहज बनेको छ । बार्सिलोना आइतबार राति स्पेनिस लिग ला लिगा फुटबलमा रायो भायोकानोसँग १–० ले पराजित भएको हो।
बार्सिलोना सबैखाले प्रतियोगितामा गरी घरेलु मैदानमा लगातार तीन खेलमा पराजित भएको यो तेस्रोपटक हो । रियालले अब एक अंक जोडेमा पछिल्लो तीन सिजनमा दोस्रोपटक उपाधि जित्नेछ।
रियालले अब लिगमा शनिबार स्पानियोललाई घरमा आतिथ्यता प्रदान गर्दै छ । उक्त खेलसँगै रियालले उपाधि जित्ने सम्भावना बलियो बनेको छ।
हारपछि ३३ खेलबाट ६३ अंकको बार्सिलाना दोस्रो स्थानमा छ । समान खेलबाट रियालले ७८ अंक जोडेको छ । लिगमा १५ अंकको खेल बाँकी छ। त्यसकारण रियालले अब एक अंक जोडेमा उपाधि पक्का हुनेछ। 'हेड–टु–हेड'मा भने क्याटलान क्लब अगाडि छ।
‘‘घरेलु मैदानमा हामीले संघर्ष गरिरहनुपरेको छ,’’ बार्सिलोनाका कप्तान सर्जियो बुस्केटले भने, ‘‘हामीले सुरुमै गोल खायौँ। त्यसपछि हामीलाई खेलमा फर्किन कठिन भयो। हामी अहिले खराब गतिशीलतामा छौँ।’ ’
रायो भायोकानोका अल्भारो गार्सियाले सातौँ मिनेटमा गरेको गोल जितमा निर्णायक बन्यो । जितपछि ३३ खेलबाट ४० अंक जोडेको भायोकानो ११औँ स्थानमा छ।
‘‘हामी अहिले एकदमै कठिन परिस्थितिमा छौं,’’ बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले भने, ‘‘हामी अझै पनि च्याम्पियन्स लिग खेल्ने स्थानमा छौँ। तर, हामी आफैँले अगाडिको यात्रा कठिन बनाउँदै छौँ।’’
बार्सिलोना युरोपा लिगमा इन्ट्राचट फ्रांकफर्टसँग घरेलु मैदानमा ३–२ ले पराजित भएको थियो । त्यस्तै, लिगमा कार्डिजसँग पनि १–० ले पराजित भएको थिय । रियाल सोसिडाडको घरेलु मैदानमा भने बार्सिलोना १–० ले विजयी भएको थियो।
बार्सिलोना यसअघि सन् १९९७/९८ र १९९८/९९ मात्र लगातार तीनपटक घरेलु मैदानमा पराजित भएको थियो।