बेनीमा सार्वजनिक जग्गा अतिक्रमित बढ्दो, राजनैतिक संरक्षणका कारण छाड्न अटेरी

म्याग्दी - अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्न म्याग्दी सदरमुकाम बेनीमा ताकेता गर्न थालिएको छ। बेनी नगरपालिका–८ स्थित पुरानो कालीपुल बजारका केही व्यक्तिले अतिक्रमण गरेर भोगचलन गर्दै आएका सार्वजनिक जग्गा फिर्ता गराउन ताकेता गरिएको हो।

कालीगण्डकी नदी किनारमा नगरपालिकाले उद्यान निर्माण गर्न लागेको जग्गा नै अतिक्रमण भएको पाइएपछि शुक्रवार वडा कार्यालयले नापी कार्यालयका प्राविधिक टोली खटाएर त्यहाँका सार्वजनिक जग्गाको अनुगमन गरेको थियो। जग्गा नापी कार्यालयका प्रविधिकको सहयोगमा सार्वजनिक छुट्याइएको नगरपालिका प्रवक्ता एवं वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण बराईलीले जानकारी दिए। साँधसिमानामा रहेका ६ जनाले सार्वजनिक जग्गा ओगटेको भेटिएको उनको भनाइ थियो।

सार्वजनिक जग्गा अतिक्रमण गरेका घरधनीलाई पत्र काटेर र जानकारी गराएर फिर्ता गर्न ताकेता गरिएको वडा कार्यालयले जनाएको छ। सदरमुकाम बेनीमा सार्वजनिक जग्गा अतिक्रमण बढ्दो छ। अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गराउन नगरपालिकाले चासो देखाए पनि राजनैतिक संरक्षणको आडमा अतिक्रमण गरेका व्यक्तिहरूले अटेरी गरिरहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×