स्वदेशी उत्पादन प्रवर्द्धनलाई दिदीबहिनी कोसेली घर

काठमाडौँ - स्वदेशी उत्पादनको प्रवर्द्धन र प्रोत्साहन गर्न नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सदरमुकाम परासीमा कोसेली घर सञ्चालनमा आएको छ।

स्थानीय घरेलु तथा साना उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरणमा टेवा पुर्याउने उद्देश्यले स्वदेशी उत्पादनको बिक्री केन्द्र(कोसेली घर) सञ्चालन गरिएको हो। घरेलु तथा साना उद्योग कार्यालय परासी र नेपाल घरेलु तथा साना उद्योग महासङ्घद्वारा  प्रवर्द्धन गरी सञ्चालनमा ल्याइएको “दिदीबहिनी कोसेली घर”मा जिल्लाभित्रका घरेलु तथा साना उद्यमीले स्थानीय कच्चा पदार्थको प्रयोग गरी उत्पादन गरेका सामग्रीदेखि हस्तकला, घरेलु उत्पादित विभिन्न खाद्य सामग्री पाइने कोसेली घरकी सञ्चालक यमकुमारी सुवेदीले जानकारी दिए।

कोसेली घरमा विशेषगरी महिला उद्यमीका उत्पादन र स्वदेशमै उत्पादन भएका वस्तुलाई प्राथमिकता दिएर प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ।यसबाट विशेषगरी महिला उद्यमीलाई प्रोत्साहन हुनेछ। परासीको लोकतान्त्रिक चोकमा सञ्चालनमा आएको दिदीबहिनी कोसेली घरको आज जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्करप्रसाद राय, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष नेत्रप्रसाद पाठक र घरेलु तथा साना उद्योग कार्यालय परासीका प्रमुख गङ्गाधर पाण्डेले उद्घाटन गरे।

कार्यालयले लघु घरेलु उद्यमीलाई प्रवर्द्धन गर्दै जिल्लामा थप तीन कोसेली घर सञ्चालनको तयारीमा रहेको छ। कोसेली घर सञ्चालन, व्यवस्थापन तथा घरभाडामा कार्यालयले आर्थिक सहयोग गरेको छ। कृषि ज्ञान केन्द्र परासीका प्रमुख शिव अर्यालले स्थानीयस्तरमा उत्पादन भएका वस्तुको बजारीकरणको समस्या यो कोसेली घरको माध्यमबाट केही हदसम्म समाधान हुने विश्वास व्यक्त गरे।

घरेलु तथा साना उद्योग महासङ्घका जिल्ला अध्यक्ष मेघराज गौतमले कोसेली घरमा उद्यमीलाई उद्योग दर्ता, नवीकरण, प्रस्तावना लेखनलगायतका विषयमा सहजीकरण गर्ने व्यवस्था पनि गरिएको जानकारी दिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×