काठमाडौँ – रियालिटी शो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ आगामी वैशाखदेखि प्रसारणमा आउने भएको छ भने यसको डिजिटल अडिसन पनि सुरु भएको छ।
बैशाख १८ गते आइतबारदेखि हप्ताको दुई दिन बेलुका ८ देखि ९ बजेसम्म इमेज टेलिभिजनबाट यो शो नियमित प्रसारण हुने निर्माण संस्था भ्वाइस स्टार नेपाल्सले जानकारी दिएको छ। विवेक सिंह ठकुरी र गायिका केन्जल मेहर श्रेष्ठले प्रस्तोताको भूमिकामा निर्वाह गर्नेछन् भने निर्णायकको रुपमा गायकहरु संजय श्रेष्ठ, सत्यराज आचार्य, स्वरुपराज आचार्य र गायिका मिलन नेवार रहने जानकारी आएको छ।
रवि श्रेष्ठले निर्देशन गर्न लागेको यो रियालिटी शोमा अन्य रियालिटी शोमा भाग लिइसकेका प्रतिस्पर्धीहरु वा पाँच वर्षभन्दा बढी समयदेखि साङ्गीतिक क्षेत्रमा सक्रिय गायक गायिका सहभागी हुन पाउनेछन्।
यो रियालिटी शोको अडिसन खुल्ला गरिएको छ। अडिसनका लागि नेपाल्स सिङ्गिङ सुपरस्टारको आधिकारिक फेसबुक पेजको म्यासेज बक्समा वा नेपाल्स सिङ्गिङ सुपरस्टारको इमेलमा आफूले गाएको गीत (बढीमा दुई मिनेट सम्मको भिडियो) पठाउन भनिएको छ। विजेताले २५ लाख नगद प्राप्त गर्ने आयोजकले यसअघि नै घोषणा भइ सकेको छ।