काठमाडौँ - अस्ट्रेलियामा यसै वर्ष हुने टी-२० विश्वकप सुरू हुन चार महिना मात्रै बाँकी छ। यसबीचमा भारतीय टोली व्यवस्थापनले अन्तिम १५ मा रहेका सबै खेलाडीको प्रदर्शनमा नजर राखिरहेको हुन्छ।
३७ वर्षीय दिनेश कार्तिकले फिनिशरका रूपमा प्रभावशाली प्रदर्शन गरेका छन्। भारतका मुख्य प्रशिक्षक राहुल द्रविड पनि कार्तिकले अन्तिम ओभरको आक्रामक ब्याटिङ अघि धेरै विकल्प दिएको विश्वास गर्छन्।
कार्तिकले दक्षिण अफ्रिकाविरूद्ध चार टी-२० आईमा १५८.६२ को स्ट्राइक रेट र ४६.०० को औसतमा ९४ रन बनाएका छन्। राजकोटमा भएको चौथो टी-२० खेलमा कार्तिकले २७ बलमा ५५ रन बनाएका थिए।जसका कारण भारतीय टोली सिरिज बराबरी गर्न सफल भएको थियो।
द्रविडले इङ्ल्यान्डविरूद्धको सिरिजको अन्त्यसम्ममा विश्वकपका लागि मुख्य टोली तय गर्न चाहेको बताएका छन्। उनले अन्तिम १५ खेलाडीमा पर्नका लागि असाधारण प्रदर्शन गर्नुपर्ने स्पष्ट पारेका छन्।
करिअरको सुरूआतमा अपर अर्डरमा खेलेका कार्तिकले भर्खरै सम्पन्न इन्डियन प्रिमियर लिगमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए। रोयल च्यालेन्जर्स बैंग्लोरका लागि उनले १६ इनिङ्समा १८३.३३ को स्ट्राइक रेटमा ३३० रन बनाएका थिए। कार्तिक टी-२० मा अर्धशतक बनाउने सबैभन्दा पाका खेलाडी पनि हुन्।
राजकोटमा कार्तिकले २७ बलमा ५५ रनको इनिङ्स खेलेका थिए। यस वर्षको टी-२० विश्वकप अघि उनको प्रदर्शन क्रमशः सुधार हुँदैछ। यस्तो अवस्थामा अन्य विकेटकिपर ब्याट्सम्यानलाई दबाब पर्नेछ, सबैभन्दा बढी दबाब ऋषभ पन्तमाथि हुनेछ।
पन्तले पाँच इनिङ्समा ५८ रन मात्रै बनाएका छन्। तर, मुख्य प्रशिक्षक द्रविडले टी-२० विश्वकपअघि पन्त आफ्नो योजनाको महत्त्वपूर्ण हिस्सा भएको बताएका छन्।
‘व्यक्तिगत रूपमा उनको प्रदर्शन खस्किएको छ। तर, उनको फर्म हाम्रो लागि चिन्ताको विषय होइन,’ द्रविडले भने,‘कार्तिकले आफूलाई छनोट गरेको भूमिकामा खेलेको देखेर साँच्चै राम्रो लाग्यो। यसले हामीलाई धेरै विकल्प दिन्छ। पछिल्लो दुई वा तीन वर्ष आईपीएलमा उनको असाधारण प्रदर्शनले छनोट गरिएको थियो। उनले सिरिजमा विशेष गरी राजकोटमा यस्तै इनिङ्स खेले।’
द्रविडका अनुसार कार्तिक र हार्दिक पाण्ड्या दुई ब्याट्सम्यान हुन्, जसले डेथ ओभरमा खेलको समीकरण बदल्न सक्छन्। ‘हामीलाई अन्तिम पाँच ओभरमा राम्रो स्कोर बनाउनको लागि यति ठूलो प्रदर्शन आवश्यक थियो। कार्तिक र हार्दिकले राम्रो ब्याटिङ गरेका थिए।’
कार्तिकले छैठौं क्रममा टी-२० अन्तर्राष्ट्रिय खेलहरूमा ४२.०० को औसतमा २५२ रन बनाएका छन्। जसमा उनको करिअरको पहिलो अर्धशतक पनि समावेश छ। सातौं अर्डरमा उनले पाँच खेलमा ११० रन बनाएका छन्। हार्दिकले गुजरात टाइटन्सलाई आईपीएलमा कप्तान र अलराउन्डरको रूपमा उपाधि जिताउन महत्त्वपूर्ण योगदान दिएका थिए।
उनले चारमध्ये तीन इनिङ्समा ३० भन्दा बढी रन बनाएका थिए। दक्षिण अफ्रिकाविरुद्ध उनको स्ट्राइक रेट १५३.९४ थियो। बलिङमा उनको इकोनोमी रेट १२.२० थियो।