काठमाडौँ - करिब ७ वर्षअघि नेपाली फिल्म उद्योगमा देखा परेकी अकेशा विष्टलाई उद्योगले टिकाउन सकेन। उनि चलचित्र ‘जिन्दगी रक्स’ मार्फत उद्योगमा देखा परेकी थिइन्। फिल्ममा भविष्य खोज्न आएकी अकेशाले यहाँको सम्भावना नदेखेपछि उनी अमेरिका उडेकी हुन्।
फिल्म क्षेत्रमा भविष्य नदेखेर अमेरिका पुगेकी अकेशाले अमेरिका रहेकै बेला ‘लाइफ इन एलए’मा अभिनय गरिन्। भविष्यको सपना देखेर अमेरिका पुगेका युवाको कथामा निर्माण भएको यो चलचित्र शुक्रबारबाट नेपालमा प्रदर्शन हुँदै छ। यही चलचित्रको प्रमोशनमा अकेशा नेपाल आएकी छिन्।
नेपाल आएपछि अकेशाले पुनः फिल्म उद्योगलाई नै निरन्तरता दिने संकेत दिएकी छिन्। पढाई र कामका कारण उद्योगबाट टाढिएको बताउँदै अब भने उद्योगलाई निरन्तरता दिने बताएकी छिन्।
उनले अमेरिकामै बसेर फिल्मी करिअरलाई अगाडि बढाउने बताएकी छिन्। राम्रो कथा भएको फिल्मबाट अफर आएको खण्डमा काम गर्ने अकेशा बताउँछिन्। अमेरिकामै रहदा ‘लाई इन एल ए’का लागि अफर आएको र चलचित्रको कथावस्तु राम्रो लागेर नै अभिनय गरेको उनको तर्क छ।
करिअरको सुरुवातमै अमेरिका हानिएकी अकेशालाई दर्शकले कत्तिको पत्याउने हुन् त्यो भने ‘लाइफ इन एलए’को प्रदर्शनपछि नै थाहा हुने छ।