काठमाडौँ - अक्षयकुमार स्टारर फिल्म ‘रामसेतु’को ट्रेलर सार्वजनिक भएको छ। २ मिनेट लामो भिडियोले रामसेतुको खोजी र संरक्षणका लागि अक्षयलाई दिइएको तीनदिने मिसनको दृश्य पेस गर्छ।
राष्ट्रिय सम्पदा संरक्षणका लागि खटिएको एक भूगर्भशास्त्रीको भूमिकामा अक्षय देखिएका छन्। नुसरत भरुचा, ज्याकलिन फर्नान्डिज, नसार र सत्यदेव पनि ट्रेलरमा चित्रित छन्।
ट्रेलर अदालती बहसको दृश्यबाट सुरु हुन्छ, जहाँ सरकारले अदालतसामु रामसेतुलाई भत्काउने अनुमति मागेको छ। अभिनेता नासरले भारत रामको विश्वासमा अघि बढ्ने र कसैले चुनौती दिन नसक्ने वाक्य बोलेका छन्।
उनले अक्षयलाई भूगर्भ अनुसन्धानका लागि रामसेतु खोज्न पठाउँछन्। ज्याकलिन र सत्यदेवलाई लिएर अक्षय मिसनमा निस्कन्छन्। उनलाई त्यसपछि थाहा लाग्छ, मर्नको लागि उनलाई त्यहाँ पठाइएको हो।
नुसरुत भरुचालाई छोटो दृश्यमा देख्न सकिन्छ, जहाँ उनी रामसेतुलाई भेट्नु असम्भव रहेको बताउँछिन्। ट्रेलरको अन्त्यमा अक्षय रामसेतुको एक टुक्रा चट्टान लिएर समुन्द्रबाट बाहिर आउँदै गरेको देख्न सकिन्छ। भ्वाइसओभरमा अक्षय भन्छन्, ‘संसारमा श्रीरामका लाखौं मन्दिर छन्, तर सेतु एउटा मात्र छ।’
रामायणमा उध्दृत भएजस्तो रामसेतुको कथाबाट फिल्म प्रभावित छ। तमिलनाडुको पाम्वन टापु र रामेश्वरम टापुलाई रामसेतुको एउटा श्रृंखला मानिन्छ। रामायणका अनुसार सीतालाई लंकाबाट उद्धार गर्न श्रीराम र उनका सैनिकले रामसेतु निर्माण गरेका थिए। अभिषेक शर्मा निर्देशित फिल्म रामसेतुलाई अमेजन प्राइम र केप अफ गुड फिल्म्सले निर्माण गरेका हुन्।