चौरासी वर्ष पुगेका अवसरमा विद्यालयमा अक्षयकोष

काठमाडौँ । बागलुङ नगरपालिका–१ निवासी ताराकुमारी शर्माले ८४ वर्ष पार गरेका अवसरमा उहाँका परिवारजनले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्। सोही वडास्थित रामरेखा आधारभूत विद्यालयमा रु. ५१ हजार ५५५ को शैक्षिक अक्षयकोष खडा गरेको शर्माका छोरा रामप्रसादले जानकारी दिए।

मंगलबार सो रकम ताराकुमारीसहित परिवारजनको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गरिएको थियो। चौरासी पूजा हुँदा सङ्कलित दक्षिणामा परिवारकातर्फबाट रकम थपेर अक्षयकोष राखिएको हो। “आमाको सम्मानमा अक्षयकोष स्थापना गरिएको हो, यसबाट विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक सामग्री प्रदान गर्ने उद्देश्य छ,” छोरा रामप्रसादले भने। उनले आउँदा दिनमा अक्षयकोषको रकम बढाउँदै लाने योजना रहेको सुनाए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्रबहादुर केसीले शिक्षा मन्त्रालयले तोकेको कार्यविधिअनुसार नै अक्षयकोष सञ्चालन गरिने बताए। उनले उक्त विद्यालयमा न्यून आय भएका परिवारका बालबालिका अध्ययनरत रहेकाले उनीहरूको शैक्षिक विकासमा अक्षयकोषबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे। विद्यालयको सल्लाहकार समितिका संयोजक एवं समाजसेवी केवी रानामगरले शर्मा परिवारले आमाको सम्मानमा विद्यालयमा अक्षयकोष राखेर पुनित काम गरेको उल्लेख गरे।

उनले सो विद्यालयमा मजदूर, विपन्न र अल्पसङ्ख्यक समुदायका बालबालिका पढ्ने भएकाले सबै पक्षको सहयोगको खाँचो रहेको बताए। विद्यालयको शैक्षिक र भौतिक गुणस्तर सुधारमा स्थानीय समुदाय नै बढी सक्रिय हुनुपर्ने रानामगरको भनाइ छ । विसं २०५५ मा स्थापना भएको सो विद्यालयमा शारीरिक अपाङ्गता भएका बालबालिका पनि अध्ययनरत छ। विद्यालयको भौतिक संरचना अपाङ्गतामैत्री छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×