मुलुकमा अझै कोभिड सङ्क्रमणको उच्च जोखिम रहेको हुँदा यस वर्ष किच्चकवध मेला नलगाने भएको छ।
विगतका वर्षहरूमा किच्चकवध मेलामा सबै धर्म र सम्प्रदायका मानिसको घुइँचो लाग्ने गरेको थियो। यस वर्ष मेला नलागे तापनि भद्रपुर नगरपालिकाले सूचना नै जारी गरेर फागुन ४ गते अर्थात् किच्चकवध मेलाको दिन स्थानीय बिदा दिने घोषणा गरेको छ। नगरका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर रेग्मीले हस्ताक्षर गरेको सूचनामा किच्चकवध मेलाका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा नगरपालिकाको कार्यालय, वडा समितिका कार्यालयहरू तथा पालिकाअन्तर्गतका सबै निकायमा स्थानीय बिदा दिइएको जनाइएको छ।
स्थानीयवासीका अनुसार राजवंशी समुदायका मानिसले किच्चकबधस्थलको उत्तरी भागमा रहेको पुरानो पोखरीमा विशेष पूजाआजा गर्दै आएका छन्। हिन्दू र किरात समुदायको साझा तीर्थस्थलका रुपमा यसलाई चिनिँदै आएको छ।
प्राकृतिक दृश्यावलोकनका लागिसमेत सुन्दर मेची र देउनिया नदीको दोभानमा अवस्थित किच्चकबध परिसरमा सतीदेवी, विष्णुपादुका र शिवको मन्दिर छ । दक्षिणी भागमा दुईतले भवनमा प्रहरीको कार्यालय रहेको छ ।