काठमाडौं - पर्यटकीय केन्द्र ठमेल र दरबारमार्ग भोलि (शनिबार)देखि २४सै घण्टा खुला हुने भएको छ । वर्षौँपछिको चर्चापछि यी क्षेत्र भोलि नयाँ वर्षदेखि २४सै घण्टा खुला खुला हुने भएको हो ।
यसका लागि जिल्ला सुरक्षा समिति, काठमाडौंले मापदण्ड र सुरक्षा योजना तयार गरेको छ । मापदण्डका विषयमा प्रहरीले आज पत्रकार सम्मेलन गरेर जानकारी गराउँदै छ ।
व्यवसायीलाई समेत थप जिम्मेवार बनाई १ वैशाखदेखि २४सै घण्टा व्यवसाय सञ्चालन गर्न दिने तयारी भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले बताए ।
ठमेल र दरबारमार्गका व्यवसायीले भने बिहीबार नै पत्रकार सम्मेलन गरी यससम्बन्धी जानकारी दिएका छन् । यसले पर्यटन प्रबद्र्धनमा समेत योगदान दिने उनीहरूको विश्वास छ । गृह मन्त्रालयले ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा सञ्चालनका लागि गत साता छलफल गरेको थियो ।
सोही छलफलका आधारमा तत्काल सञ्चालन गर्न लागिएको हो । एक दशकभन्दा लामो समयदेखि ठमेल क्षेत्रलाई पूर्णकालीन सञ्चालन गर्नेबारे छलफल हुँदै आए पनि विभिन्न व्यक्तिको स्वार्थ तथा प्रशासनको अनिच्छाका कारण कार्यान्वयन हुन सकेको थिएन ।