काठमाडौँ - यतिबेला देशैभरि निर्वाचनको माहोल छ। देशको कार्यपालिकातर्फ मात्र नभएर न्यायपालिकातर्फ पनि यतिबेला चुनावी माहोल छाएको छ।
आउँदो चैत १९ गते हुन गइरहेको नेपाल बार एसोसिएसनको केन्द्रीय कार्य समितिको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र कानुन व्यवसायीहरूको संगठन (NLA) ले अधिवक्ता पृथ्वी नाथ राईको अध्यक्षतामा प्यानल बनाएर चुनावमा सहभागी हुने घोषणा गरेका छ। आज उम्मेदवारी दर्ता गर्दै NLA ले, राजनीतिक दलहरूको चाकडीलाई आफ्नो पहिलो प्राथमिकतामा राखेर न्यायालयलाई बेच्न समेत पछि नहटेका दलसम्बद्ध प्यानलहरूको सिण्डीकेटलाई तोड्न र न्यायालय र नेपाल बारको शुद्धीकरणको नेतृत्व गर्नका लागि संगठित भई उम्मेदवारी दिएको बताएको छ।
आजसम्म नेपाल बारको चुनावी इतिहासमा स्वतन्त्र कानुन व्यवसायीहरूले प्यानल नै बनाएर उम्मेदवारी दिएको सम्भवतः यो पहिलोपटक हो। विगतमा स्वतन्त्र उम्मेदवारहरूले बारको निर्वाचनमा सहभागिता जनाए पनि, संगठित भएर प्यानलसहित उम्मेदवारी दिएका थिएनन्। उम्मेदवारी दर्ता पछि मिडिया सँग कुरा गर्दै, NLA बाट महासचिवका उम्मेदवार अधिवक्ता त्रिलोक बहादुर चन्दले, स्वन्तन्त्र न्यायपालिकाको मुद्दालाई बोकेर हिड्ने तर आफै राजनीतिक दलको स्वार्थ पूर्तिको लागि मरिमेट्ने र न्यायालयलाई राजनीतिक भागबन्डाको अखडा बनाउने दलका दलालहरूको काउन्टरमा आफू उभिएको बताएका छन्।
सेतोपट्टि लगाएर न्यायालय शुद्धीकरण आन्दोलनको नेतृत्व गरेको समूह हो (NLA) एनएलए। नेपाल बारले अदालत ठप्प पारी प्रधानन्यायाधिश जबराविरुद्ध आन्दोलन गर्दैगर्दा सेतोपट्टी समूहले त्यसको कडा विरोध गर्दै आएको छ। न्यायालय शुद्धीकरणको मुद्दा साझा भएपनि जनताको न्याय पाउने अधिकारलाई हनन् गरेर हुने कुनै पनि आन्दोलन आफूहरूलाई स्वीकार्य नहुने समेत सेतोपट्टी समूहले स्पष्ट पारेको हो।
बारको निर्वाचन इतिहासमै प्यानलसहितको चुनाव यो पहिलोपटक हुन गइरहेको हो।