हुलाकी राजमार्ग समयमा नसकिने पूर्वानुमान

काठमाडौँ । राष्ट्रिय गौरवको हुलाकी राजमार्गको निर्माण लक्ष्य लिइएको समय (आब २०७९÷८०) सम्ममा सम्पन्न नहुने देखिएको छ।

निर्धारित समय सकिन डेढ वर्षभन्दा कम बाँकी हुँदा अझै कतिपय खण्डमा रेखाङ्कन नै टुङ्गो लाग्न सकेको छैन भने झन्डै ७० ओटा पुलको डिजाइन हुन पनि बाँकी नै छ। वन क्षेत्रबाट रेखाङ्कन हुने गरी डिजाइन भए पनि त्यस क्षेत्रमा जग्गा प्राप्त गर्ने अवस्था नभएको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ। झन्डै १२५ किमी निकुञ्ज क्षेत्रमा पर्ने र निर्माणका लागि पटकपटक प्रयास गरे पनि अनुमति नपाइएको निर्देशनालयका प्रमुख धर्मेन्द्र झाले बताए। 

चितवन राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग पटकपटक छलफल भए पनि निर्माणस्थल नपाउने देखिएको छ। उनले भने, “त्यसको विकल्पका बारेमा निर्णय माथिबाट नै हुनुपर्छ।” विगतका वर्षहरूमा कोभिडका कारणले पनि निर्माणमा ढिलाइ भएको निर्देशनालयले जनाएको छ। आयोजनाको समय सकिएपछि झन्डै दुई वर्ष थप आवश्यक पर्नसक्ने उनले बताए। वन क्षेत्रका कारणले सडक निर्माण गर्न नसकिएको खण्डमा विगतमा प्रयोगमा रहेका अरू सडकलाई विकल्पका रुपमा प्रयोग गर्ने गरी पनि विगतमा छलफल भएको थियो। 

चितवन राष्ट्रिय निकुञ्ज हुँदै सडकको रेखाङ्कन भएकाले आयोजनाले वातावरणीय अध्ययन सकेर पटकपटक अनुमति मागे पनि पाएको थिएन। चितवन जिल्लामा २३ किमी र नवलपरासी जिल्लामा ६५ गरी झन्डै ८८ किमी निकुञ्जभित्र पर्छ। विश्व सम्पदा क्षेत्रमा त्यसको मापदण्डका आधारमा मात्रै पूर्वाधार निर्माण गर्न पाउने व्यवस्था छ। त्यसका लागि संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को सहमति चाहिन्छ।

आयोजनाअन्तर्गत झन्डै साढे दुई सय पुल निर्माण गर्नुपर्नेमा झन्डै ७० पुलको डिजाइन बाँकी छ। अहिलेसम्म झन्डै एक सय पुल मात्रै सम्पन्न भएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×