काठमाडौँ - युइएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको चौथो राउन्डको खेलमा आज (मंंगलबार) राति विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुँदैछ।
आज (मंगलबार) राति समूह ‘ई’ देखि ‘एच’ का खेलमा प्रतिस्पर्धा हुँदैछ। समुह ‘ई’ मा क्रोएसियन क्लब डिनामो जाग्रिवले घरेलु मैदानमा अष्ट्रियन क्लब रेडबुल साल्जवर्गको आतिथ्यता गर्दैछ। यही समूहमा इटालियन क्लब एसी मिलानले इंग्लिस क्लब चेल्सीसँग प्रतिस्पर्धा गर्दैछ।
यो समूहमा सबै चारै टोलीको अघिल्लो चरण पुग्ने सम्भावना रहेकाले सबै टोली जित निकाल्दै अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनाउन चहान्छ। यो समूहमा साल्जवर्गले ५ अंक जोडेको छ। चेल्सी र मिलानको समान ४ तथा डिनामोको ३ अंक छ।
समूह ‘एफ’ मा स्कटिस क्लब सेल्टिकले जर्मन क्लब आरबी लाइप्जिगसँग खेल्दा यो समूहमा युक्रेनी क्लब साख्तर डोनेस्कले घरेलु मैदानमा स्पेनिस क्लब रियल म्याड्रिडको आतिथ्यता गर्दैछ। सेल्टिक पहिलो जितको खोजीमा रहँदा आरबी लाइप्जिग अर्काे जित निकाल्दै समूह चरण पार गर्ने सम्भावना बलियो बनाउने लक्ष्यमा मैदान उत्रनेछ।
यता, रियाल घरेलु टोली साख्तरलाई हराउँदै समूहमा लगातार चौथो जित निकाल्दै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउन चहान्छ। साख्तर पनि अघिल्लो साता व्यहोरेको हारको बदला लिदै समूहमा दोस्रो जितको खोजीमा हुनेछ। यो समूहमा रियाल ९ अंक जोडेर शीर्षस्थानमा छ। साख्तरको ४, लाइप्जिगको ३ तथा सेल्टिकको १ अंक रहेको छ।
समूह ‘जी’ मा डेनिस क्लब एफसी कोपेनहेगनले बलियो इंग्लिस क्लब म्यानचेस्टर सिटीको सामना गर्दैछ। कोपेनहेगन घरेलु मैदानमा सिटीलाई स्तब्ध पार्ने लक्ष्यमा मैदानमा उत्रदा युवा स्टार एर्लिङ ब्राउट हालान्डप्रेरित सिटी लगातार चौथो जित निकाल्ने योजनामा हुनेछ।
यही समूहमा जर्मन क्लब बोरुसिया डर्टमुन्डले स्पेनिस क्लब सेभियाको आतिथ्यता गर्दैछ। यो समूहमा सिटीको ९ अंक रहेको छ। डर्टमुन्डको ६ तथा सेभिया र कोपेनहेगनको समान १ अंक रहेको छ।
समूह ‘एच’ मा इजरायली क्लब मकावी हाइफाले इटालियन क्लब युभेन्ट्सको आतिथ्यता गर्दैछ। युभेन्ट्सलाई अघिल्लो चरणको यात्रालाई बलियो बनाउन यस खेलमा जित आवश्यक छ। युभेन्ट्स ३ अंक जोडेर तेस्रो तथा मकावी अंकविहीन हुँदै पुछारमा रहेको छ।
यही समूहमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले पोर्चुगिज क्लब बेन्फिकासँग खेल्दैछ। समान ७ अंक जोडेको दुवै टोली जित निकाल्दै आफ्नो शीर्षतालाई बलियो बनाउन चहान्छ।
च्याम्पियन्स लिगमा आज
समूह ‘ई’ - डिनामो जाग्रिवविरुद्ध रेडबुल साल्जवर्ग (राति १२ः४५ बजे) र एसी मिलानविरुद्ध चेल्सी (राति १२ः४५ बजे)
समूह ‘एफ’ - सेल्टिकविरुद्ध आरबी लाइप्जिग (राति १२ः४५ बजे) र साख्तर डोनेस्कविरुद्ध रियल म्याड्रिड (राति १२ः४५ बजे)
समूह ‘जी’ - कोपेनहेगनविरुद्ध म्यानचेस्टर सिटी (राति १०ः३० बजे) र बोरुसिया डर्टमुन्डविरुद्ध सेभिया (राति १२ः४५ बजे)
समूह ‘एच’ - मकावी हाइफाविरुद्ध युभेन्ट्स (राति १०ः३० बजे) र पिएसजीविरुद्ध बेन्फिका (राति १२ः४५ बजे)